बालेन र सुनिता सिसडोल पुगे, स्थानीयबासीसँग छलफल

काठमाडौं महानगर क्षेत्रमा केही समयदेखि फोहोर उठ्न सकेको छैन ।
महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसकेको आक्रोश चुलिँदै गएसँगै महानगरको नयाँ नेतृत्व यसै विषयमा बढी केन्द्रित भएको छ ।
फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल सिसडोल पुगेका छन् ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न उनीहरु सिसडोल गएका हुन् ।
यसअघि पनि प्रमुख साह चुनाव जितेलगत्तै सिसडोल पुगेका थिए । त्यसबखत साहले फोहोरको दिगो व्यवस्थापनमा सरकारी पहल र प्रयास अत्यन्तै जोखिमपूर्ण र बेवास्ता गरिएको बताएका थिए ।
प्रमुख साह र उपप्रमुख डंगोल एकैसाथ सिसडोल पुगेको यो पहिलो पटक हो ।