न्याय पाइन्छ भन्ने निश्चित नहुँदासम्म अन्त्येष्टि गर्दैनौं- मृतकका दाजु

५६ दिन बितिसक्दा पनि शंकास्पद मृत्यु भएकी अमृताको अन्त्येष्टि भएन


 



रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी अमृता खत्री टण्डनको मृत्यु भएको झण्डै दुई महिना हुँदा पनि अन्त्येष्टि हुन सकेको छैन।

 

गएको चैत ३० गते राति उनको शंकास्पद मृत्युपछि आन्दोलनमा उत्रिएका माईती पक्षले मृत्यु भएको ५ दिनका दिन पोष्टमार्टम गर्न सहमति भए पनि अन्त्येष्टि भने ५६ दिनसम्म पनि हुन सकेको छैन।

 




उनको शव अहिले लुम्विनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

 

नजिकै रहेको माईतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको खबर माईती पक्षलाई दिईएको थियो। माईती पक्षका अनुसार सोही दिन साँझ झण्डै ८:३० बजे माइतबाट सकुशल घर पुगेकी अनिताको ९:५० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

 

माईती पक्षले अमृताको मृत्यु शंकास्पद रहेको भन्दै श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दिपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए। 

 

हाँसीखुसी ८:३० बजे माइतबाट घर जानु, घर पुगेको १ घण्टामा बाँच्न चाहेको भन्दै गुहार मागेर दाजुलाई म्यासेज पठाउनु, घटनास्थलमा नेपालमा बिक्रि वितरण गर्न प्रतिवन्धित विषादीको बट्टा फेला पर्नु, विषसेवन गरेको भनिएको कोठाको ढोका खुल्लै रहनुले माइती पक्ष अमृताको हत्या भएको आशंका गर्दै आएका छन्।

जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि प्रमाण नपुगेको भन्दै मृतकका सासु ससुरा दुवैलाई रिहा गरेपछि माईती पक्ष असन्तुष्ट छन्।

 

घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अमृताका माइती पक्षले अन्त्येष्टि गर्न अस्वीकार गरेका छन्।

 

यसअघि रूपन्देही प्रशासनले निष्पक्ष छानविन गर्ने प्रतिबद्धता जनाएपछि मृतकका माइती पक्ष पोष्टमार्टमका लागि सहमत भएका थिए।

 

विभिन्न अधिकारवादी संस्थाको अगुवाईमा करिब एक महिना सडक आन्दोलनमा उत्रिएका अमृताको माईती पक्षको आन्दोलन केही मत्थर भएको छ। तर अन्त्येष्टि गर्नेतर्फ चासो नदेखाएकोले दाहसंस्कारमा अन्यौल बढाएको स्थानीय प्रशासनले जनाएको छ।

 

माइती पक्षको माग बमोजिम घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले गरेको थियो। त्यसैका आधारमा जिल्ला अदालतबाट थुनछेक बहस समेत भई अदालतले आदेश गरिसकेकाले अन्त्येष्टि गर्ने विषयमा सघाउँदा राम्रो हुने ईलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।

 

यसैबीच अमृताको घर पक्षले आफूहरूको ज्युज्यानको असुरक्षा भएको र आफ्नो परिवारको सदस्यको मृत्यु हुँदा पनि कुलधर्म संस्कार अनुसार अन्त्येष्टि गर्न अवरोध भएको भन्दै टहल सिंह टण्डन र दिपा टण्डनले उच्च अदालत तुलसीपुरको बुटवल ईजलासमा रिट दायर गरेका छन्।

 

 

टण्डन परिवारले ईलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रूपन्देही, जिल्ला प्रशासन कार्यालय रूपन्देही मेची-महाकाली बुहारी अभियान र अमृताको माईती पक्षलाई बिपक्षी बनाएर रिट दायर गरेका छन्।

रिटमा बिपक्षीले मानव अधिकारको हनन गरेको, अन्त्येष्टिमा अवरोध गरेको र आफ्नै घरमा बस्नसमेत असुरक्षा भएको उल्लेख गरेका छन्।

 

टण्डन परिवारको कानून ब्यवसायी अधिवक्ता जोग बहादुर खत्रीका अनुसार अधिकारकर्मीका नाममा संस्थागत ढंगले मानवअधिकार हनन् भएको र नागरिकले आफ्नो घर सम्पतीमा स्वतन्त्रतापूर्वक बस्न र भोगचलन गर्न पाउने अधिकारबाट बञ्चित गरेकोले न्यायका लागि रिट दायर गरिएको हो।

 

मृतक अमृताका दाजु पुष्पक खत्रीले बहिनीको आत्महत्या नभई परिवारबाटै हत्या भएकोले हत्यामा सम्लग्नमाथि कारबाही हुने सुनिश्चितता नभएसम्म अन्त्येष्टि गर्ने अवस्था नभएको बताए। उनले जिल्ला अदालतको आदेश बिरूद्ध उच्च अदालतमा जाहेरी दिईएको बताए।

 

 

‘जिल्ला अदालतबाट न्याय पाईएन, त्यसैले उच्च अदालतमा निवेदन दिएका छौं बहिनीको मृत्यु भए पनि उनका सन्तानको अधिकार पनि संरक्षण गर्नुपर्ने अवस्था छ त्यसैले हामीले उच्च अदालतको ढोकामा पुगेका हौं,’ पुष्पकले सेतोपाटीसँग भने।

 

‘गृहमन्त्रीको गृहनगरका हामीले न्यायका लागि यसरी लडिरहनु परेको छ, अहिलेसम्म यो विषयमा जनप्रतिनिधिले समेत हामीलाई साथ दिनुभएन,’ पुष्पकले भने।

 



सम्बन्धित
Loading...