भारत निर्वाचन: नौ राज्यमा चौथो चरणको मतदान सम्पन्न
भारतमा संसदीय निर्वाचनको चौथो चरण अन्तर्गत सोमवार नौ राज्यका ७२ वटा संसदीय क्षेत्रमा मतदान सम्पन्न भएका छन्।
झन्डै ९० करोड मतदाता भएको भारतमा सात चरणमा मतदान सम्पन्न हुनेगरी एप्रिल ११ मा निर्वाचन सुरु भएको हो।
सोमवार महाराष्ट्रका १७, उत्तर प्रदेश र राजस्थानका १३-१३ पश्चिम बङ्गालका आठ, मध्य प्रदेश तथा ओडिशाका छ-छ, बिहारका पाँच, झारखण्डका तीन र जम्मू-कश्मीरका एक संसदीय क्षेत्रमा मतदान भएका हुन्।
लोकसभा निर्वाचन: काश्मीरका ९० प्रतिशत मतदाताद्वारा मतदान बहिस्कार
भारतको आर्थिक राजधानी मानिने मुम्बईमा पनि मतदान सम्पन्न भएको हो।
यसअघि तीन चरणमा गरेर कुल ३०२ क्षेत्रमा मतदान भइसकेको छ। अन्तिम चरणको मतदान मे १९ मा भएपछि मे २३ देखि मतगणना हुनेछ। यो चरणको मतदान सत्तारूढ भारतीय जनता पार्टीका लागि महत्त्वपूर्ण मानिएको छ।