‘चल्छ भन्ने त थियो, तर यति धेरै व्यापार गर्छ भन्ने लागेकै थिएन’ : दयाहाङ राई
काठमाडौं ।
अघिल्लो शुक्रबार रिलिज भएको चलचित्र ‘कबड्डी–४’ ले अनपेक्षित व्यापार गरिरहेको छ । एक हप्तामा १४ करोड रुपैयाँभन्दा धेरै ग्रस कलेक्सन गरेको यो चलचित्रले अहिले पनि उत्साहजनक व्यापार गरिरहेको छ ।
आइतबारसम्म चलचित्रले साढे १७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र वितरक मनोज राठी बताउँछन् । “आइतबारसम्म साढे १७ करोड कलेक्सन भएको रिपोर्ट आएको छ,” मनोज भन्छन्, “अहिले पनि चलचित्रले उत्साहजनक रूपमा दर्शक पाइरहेको छ । शो उल्लेख्य रूपमा घटेको छैन ।”
यसको कलेक्सनलाई लिएर स्वयं कलाकारदेखि वितरकसम्मले अनपेक्षित व्यापार गरिरहेको बताएका छन् । उनीहरूकै शब्दमा ‘चलचित्र चल्छ र लगानी उठाएर केही फाइदा पनि हुन्छ भन्ने थियो । तर, यो तहमा व्यापार गर्छ भन्ने थिएन ।’
चलचित्र यति धेरै चल्नुका पछाडि उनी अघिल्ला सिरिजहरूले बसालेको जगलाई श्रेय दिन्छन् । “अघिल्ला सिरिजहरूले यो चलचित्रका पात्रहरूप्रति एकप्रकारको आत्मीयता विकास गरेको थियो । तिनै पात्र हलसम्म आउने भएपछि दर्शक आएको भन्ने लाग्छ,” दयाहाङ भन्छन्, “जब हामी पब्लिसिटीका लागि नेपाल टुरमा निस्कियौँ, त्यही बेला चलचित्र राम्रोसँग चल्छ भन्ने आभास भने पाइसकेका थियौँ । प्रचारमा इटहरीमा दर्शकको भीड देखेर म आफैँ छक्क परेको थिएँ ।”
वीरकाजी (दयाहाङ)का फ्यान देखेर आफैँ आश्चर्यमा परेको उनी बताउँछन् । वीरकाजीको विवाह हुन्छ कि हुँदैन भन्ने कौतूहल दर्शकमा देखेर आफू छक्क परेको उनी बताउँछन् । “म जब झापा, सुनसरी, चितवन, पोखरालगायत ठूला सहरमा पुगेँ, त्यहाँ यति धेरै वीरकाजीका फ्यान देखेँ, म आफैँ चकित परेँ,” दयाहाङ भन्छन्, “वीरकाजीको बिहे हुँदैन भने वीरकाजीसँग विवाह गर्न तयार फ्यानसम्म भेटिनुभयो । यसको अर्थ चलचित्रले राम्रो हाइप लिएको थियो । र, त्यसको अर्थ चलचित्र हेर्न हलमा दर्शक आउनुहुन्छ भन्ने लागेको थियो ।”
कबड्डी–४ रिलिज भएको डेटमा अरू चलचित्र नआउनु पनि राम्रो व्यापार हुनुको अर्को कारण भएको उनको ठम्म्याइ छ । सोलो रिलिज हुँदा ठूलो संख्यामा यो चलचित्रले शो पाएको थियो । अर्को कारण, पछिल्लो समय थपिएका मल्टिप्लेक्स पनि हुन् । सिंगल स्क्रिन बन्द भएर मल्टिप्लेक्स थपिँदै जानु र टिकट महँगो हुनु अनपेक्षित व्यापारको अर्को कारण भएको उनको बुझाइ छ ।
कोरोनाका कारण लामो समय हल बन्द भएपछि राम्रो हाइप बनाएको चलचित्र पहिलोपटक आउनु, हप्तामा दुई दिन सार्वजनिक बिदा हुनु पनि कबड्डी–४ को उच्च व्यापारको अर्को कारण भएको दयाहाङ बताउँछन् ।
कोरोनाको त्रास हटेर मानिस ढुक्क भएको र निर्वाचन सकिएर नागरिक फुर्सदिलो हुनु पनि चलचित्रमा दर्शकको उपस्थिति बलियो हुनुको अर्को कारण रहेको उनी बताउँछन् ।
“पब्लिसिटी डिजाइनले पनि धेरै काम गरेजस्तो लाग्छ । आफूले सिनेमामा हेरेको पात्र स्वयं आफ्नै गाउँ ठाउँमा आएर चलचित्र हेर्न आग्रह गर्दा हेरौँ न त भन्ने पनि लाग्यो भन्ने लाग्छ,” दयाहाङ भन्छन्, “अर्को कुरा, हामीले यो सिरिजको अन्तिम चलचित्र भनेर ‘फाइनल म्याच’ भन्यौँ । अन्तिम सिरिज कस्तो रहेछ हेरौँ न भन्ने पनि दर्शकमा भयो भन्ने मेरो बुझाइ छ । हलमा नहेरे पनि युट्युबमा अधिकांश दर्शकले हेरेकाले अन्तिम चलचित्र भएकाले हलमै गएर हेरौँ भन्ने पनि भयो कि !”
चलचित्र वितरक गोविन्द शाही रामबाबु गुरुङको चलचित्रमा रहेको रैथाने स्वाद पस्किने निर्देशकको छवि पनि चलचित्र चल्नुको अर्को कारण रहेको बताउँछन् । “लभ, रोमान्स, एक्सनका एकैखाले चलचित्र आइरहेका बेला जसरी रामबाबु गुरुङले मौलिक स्थानीय परिवेशसँग जोडेर चलचित्र ल्याउनुभयो, त्यो नै उहाँका चलचित्रमा क्रेज बढाउने कारण बन्यो,” वितरक शाही भन्छन् ।
हालसम्मका सबै रेकर्ड तोडेर कबड्डी–४ अगाडि बढिसकेको उनी बताउँछन् । ‘छक्का पञ्जा’, ‘बाहुबली’, ‘केजीएफ’लगायत सम्पूर्ण चलचित्रको ग्रस कलेक्सनको रेकर्ड तोडिसकेको उनको भनाइ छ । “हलिउड र बउिडका चलचित्रमा दर्शकको क्रेज देखेर यस्तो पनि हुन्छ भनेर लोभ लाग्थ्यो,” गोविन्द भन्छन्, “अहिले त्यो भीडलाई पनि पछि पार्दै नेपाली चलचित्र चलिरहेको छ । म आफैँ चकित परिरहेको छु । नेपाली चलचित्रको पनि यति ठूलो बजार रहेछ भनेर यसले हामीलाई प्रमाणित पनि गरिदिएको छ ।”