अरुणखोला नदीमा आजदेखि टेक्टरले नदीजन्य वस्तु निकासी गर्न पाउने
नवलपरासी, २५ बैशाख । खोला तथा नदीमा यस आर्थिक बर्षको ठेक्का लगाउने समय सकिन लागेपछि पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य वस्तु आफै निकालेर विक्री गर्ने तयारी गरिरहेको भए पनि आज देखि मध्यविन्दु नगरपालिकाको अरुणखोला नदीबाट टेक्टरले नदीजन्य वस्तु निकासी गर्न पाउने भएका छन् ।
नगरपालिकाले आफै नदीजन्य वस्तु निकालेर विक्री गर्नु राम्रो काम भएपनि यसरी निकाल्दा स्थानीय ट्याक्टर व्यवसायी, मजदुरको रोजी रोटी गुम्ने भन्दै आन्दोलन गरेपछि ट्याक्टरहरुलाई खोलाबाट नदीजन्य वस्तु निकासीका लागि सहमति भएको हो ।
मंगलबार मध्यविन्दु नगरपालिकाका उपप्रमुख ओमकुमारी महतो र स्थानीय ट्याक्टर व्यवसायी बीच अरुणखोलामा गएर ट्याक्टरले नदीजन्य वस्तु निकासी गर्न पाउने र त्यसका लागि नगरपालिका आफैले रोयल्टी काट्ने सहमति भएको राजु न्यौपानेले बताए ।
अरुणखोला आसपासका क्षेत्रमा करिब दुई सय टेक्टर व्यवसायीहरु रहेका छन् ।
मध्यविन्दु नगरपालिकाले अरुणखोलामा रहेको अरुणखोला नदीको नदीजन्य वस्तु आइईई गरेर निकासी गर्न मिल्ने ठाउँका नदीजन्य वस्तु आफै निकासी गरी टेण्डरमा विक्री गर्न थालेको हो ।
मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख ओमकुमारी महतोका अनुसार अरुणखोलाको गिटी, बालुवा तथा ढुंगा नगरपालिका आफैले निकालेर एकठाउँमा जम्मा गरी सार्वजनिक सूचना निकालेर बढाबढमा विक्री गर्ने छ ।