डोजर चुनाव चिन्हका लिएर व्यवसायिक किसान विष्णु भट्ट नवलपुर १ को चुनावी मैदानमा

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ निवासी व्यवसायिक किसान विष्णु भट्ट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा किसानको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।
उनले नवलपुर क्षेत्र नं. १ बाट स्वतन्त्र रुपमा उम्मेदवार दिएका हुन् । यस अघिको निर्वाचनमा भोट होइन, बोट रोपौं भन्ने अभियान चलाएर निर्वाचनमा मतदान समेत नगरी कृषि क्षेत्रमा व्यस्त कृषक विष्णु भट्ट यस पटक भने आफै दलका नेताहरुलाई चुनौती दिंदै चुनावी मैदानमा उत्रिएका छन् ।
नवलपुर १ मा गठबन्धनबाट यस पटक लगातार ३ पटक निर्वाचित भएका नेपाली काँग्रेसका डा. शशांक कोइराला, नेकपा एमालेबाट संविधान सभा सदस्य समेत रहेका एमालेका केन्द्रिय सदस्य कृष्ण पौडेल लगायतका हस्तिहरु भट्टका चुनावी प्रतिप्रधिहरु रहेका छन् ।
उनी सहित स्वतन्त्र ५ जना र ११ दलका ११ जना उम्मेदवार सहित १६ जना नवलपुर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् ।
२०७५ सालमा बाख्रा पालन व्यवसाय शुरु गरेर व्यवसायिक किसान पेशामा लागेका भट्टले अहिले उन्नत जातको घाँस खेती, बेसार, रानी गिठ्ठा, कालो उखुँ, पिडालु लगायत खेती २२ विगाहामा गर्दै आएका छन् ।
उनले गैडाकोटबाट शुरु गरेको व्यवसायिक कृषि पेशा गैडाकोटहँुदै देवचुली र कावासोती नगरपालिकासम्म पुर्याएका छन् । २२ विगाहा सबै जग्गा भाडामा लिएर व्यवसायिक कृषि पेशा गर्दै आएका भट्टले देशलाई नेताहरुले कंगाल बनाएको कृषिको समस्याका बारेमा कुनै ध्यान नदिएको भन्दै किसानको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका बताए ।
उनले भने – म किसान सिपाही हुँ । आधुनिक कृषि प्रणालीको विकासका लागि मेरो उम्मेदवारी हो ।
पत्रकार सम्मेलन मार्फत सुझाव माग

आफूलाई किसान सिपाही भन्दै चुनावी मैदानमा होमिएका विष्णु भट्टले शुक्रबार कावासोतीमा पत्रकार सम्मेलन गरी मतदाताहरुसँग घोषणा तयार पार्नका लागि सुझाव माग गरेका छन् ।
उनले भने – यो नेपालको लागि नयाँ अभ्यास हो, अहिलेसम्म उम्मेदवारले आफू घोषणा पत्र बनाएर मत माग्न जाने गरे पनि मैले सुझाव संकलन गरेर नै घोषणा पत्र तयार पार्ने छु ।
उनले आफ्नो मात्रै एजेण्डा समावेश गरेर घोषणा पत्र तयार पार्दा समग्र नवलपुरको एजेण्डाहरु समेटिन नसक्ने भएकालेले सबैसँग सुझाव माग गरेको बताए । यो अभ्यास नेपालमै पहिलो पटक आफूले गरेको उनको दावी छ ।
उनी आफू स्वतन्त्र उम्मेदवार भए पनि अहिले नेपालमा स्वतन्त्रको माहौल नआएको बताए । उनले भने – स्वतन्त्रको अभियान आएको होइन, नेपाल आमा जोगाउन अभियान आको हो । त्यसलाई जोगाउन लाग्नु मेरो सपथ हुने छ ।
नवलपुर १ बाट गठबन्धनबाट नेपाली काँग्रेस सहित नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, हाम्रो नेपाली पार्टी, जसपा नेपाल, नेपाली काँग्रेस विपी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टीका ११ दलका ११ उम्मेदवार सहित १६ जना चुनावी मैदानमा उत्रिएका छन् ।