नवलपुरमा काँग्रेसकाे १० हजार १ सदस्यीय प्रचार समिति

नवलपरासी ।
नेपाली कांग्रेसका नेता एवं प्रवक्ता डा.प्रकाश शरण महतले पांच दलीय गठबन्धनकाे जित सुनिश्चित भएकाेले डंका पिट्नु आवश्यक नरहेकाे बताउनु भएकाे छ ।
डा.महतले आईतवार पूर्वी नवलपरासीकाे अमरापुरी स्थित रेडहाउसमा कांग्रेस, क्षेत्र नम्वर १ निर्वाचन प्रचार समितिकाे बिस्तारित बैठकलाई सम्बाेधन गर्ने क्रममा साे कुरा बताउनु भएकाे हाे ।
समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि दलले एकल बहुमत ल्याउन नसक्ने बताउदै डा.महतले त्यसका निमित्त पनि गठबन्धन आवश्यक रहेकाे बताउनु भयाे ।
गठबन्धनलाई भावनात्मकतामा नलिई रणनैतिक रूपमा लिन उपस्थित सबै अगुवा कार्यकर्तालाई डा. महतले आग्रह गर्नु भयाे ।
बैठकमा कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा,निवर्तमान प्रदेश सांसद ओमकला गाैतम,प्रदेश समानुपातिक उम्मेदवार एकनारायण अधिकारीले मन्तब्य राख्नु भएकाे थियाे ।
जिल्ला गठबन्धन चुनाव संयाेजक हेमराज काेईराला, महिला नेतृ सरस्वती तिमल्सिना, भूतपूर्व शैनिक संघका निवर्तमान अध्यक्ष कर्णेल धनबहादुर मास्की, क्षेत्रीय सचिव अमृत श्रेष्ठ लगायतले बैठकमा सुझाव दिनु भएको थियो ।
कांग्रेस जिल्ला पदाधिकारी, महासमिति तथा महाधिवेशन प्रतिनिधि,प्रदेश एवं क्षेत्रीय पदाधिकारी,गाउं तथा नगर सभापति समेतकाे सहभागिता रहेकाे बैठककाे संचालन महासमिति सदस्य कांग्रेस युवा नेता गाेकुल सापकाेटाले गर्नु भएकाे थियाे ।
सभाध्यक्ष एवं नेपाली कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले बैठकमा बिषय प्रवेश गराउनुका साथ साथै छलफलका लागि दफाबार प्रस्ताव पेस गर्नु भएकाे थियाे ।
बैठकले हरेक क्रियाशील सदस्य सहितकाे १० हजार १ सदस्यीय चुनाव प्रचार प्रसार मूल समिति क्षेत्र नम्बर १ गठन गरेकाे छ ।