सम्पादकीयः सडकको दुर्दशा, यात्रुको सास्ती
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक विस्तार कार्य चलिरहेको छ । अहिलेसम्म २८ प्रतिशतको हाराहारीमा काम भएको छ । पछिल्लो समय छिटो गतिमा गर्छु भनेर प्रतिबद्धता गरेको समयमा पनि महिनामा ३ प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ। जुन अत्यन्तै ढिलो हो। मासिक ३ प्रतिशतको प्रगति हासिल गरेर काम गरेपनि काम सक्न २ बर्ष बढी लाग्ने देखिन्छ । तथापि बर्षाको समममा हुने कामको ढिलाइ आदि कारण जोड्ने हो भने यो गतिमा काम गर्दा कम्तिमा ३ देखि ४ बर्ष अगाडि सडक विस्तार कार्य सकिने देखिदैन । जुन ज्यादै सुस्त गति हो । सडक विस्तार थालिएको ४ बर्ष भईसकेको छ । ३ बर्षमा सडक निर्माण सक्ने सम्झौता हो । तर, ४ बर्ष कटि सक्दा २८ प्रतिशत मात्र भएको छ ।
केही दिन अघि चैतको समयमा परेको पानीले पनि ठाउँठाउँमा सडक अवरुद्ध हुन पुग्यो त्यो पनि घण्टौं । चैतमा परेको यो पानीले पनि घण्टौ बाटो अवरुद्ध भए पछि यस बर्ष बर्षामा दैनिक सडक अवरुद्ध हुने पक्का छ। गत बर्ष नै डाइभर्सन र पुलपुलेसाको काम सक्ने र बाटो कही कतै अवरुद्ध नहुने गर धुलो नउड्ने गरी काम गर्ने प्रतिबद्धता सडक निर्माण कम्पनी चाइना स्टेट कम्पनीले गरेको थियो तर अझै पनि सडक डाइभर्सन र पुलपुलेसाको काम सकेको छैन। जसले गर्दा यस पटकको बर्षामा बाटो हिलाम्मे भएर सडक चिप्लो भएर हिड्नै नमिल्ने, डाइभर्सन भत्किएर वा बगाएर सडक अवरुद्ध हुने सम्भावना अत्यधिक छर त्यो दैनिक हुने सम्भावना पनि उत्तिकै छ।
एकातिर धुलो अर्कोतिर सडकमा खाल्डाखुल्डी उस्तै, यात्रुलाई बुटवल नारायणगढ सडक पार गर्न युद्ध जितेकै आभाष हुने गर्दछ। दैनिक यस्तो बाटो हिड्न आजित भएर कति पय यात्रुहरु अत्यावश्यक काम बाहेक यात्रा गर्न छाडि सकेका छन् । जसले मानिसको दैनिक काममा समेत प्रभावित पार्दछ। त्यसैले बेलैमा सडक सामान्य अवस्थामा फर्काउन सबैले पहल गर्नु आवश्यक छ । निर्माण कम्पनीले पनि यो मेरो काम हो मात्र नभनि यो मेरो जिम्मेवारी हो भनेर गरे यात्रुले पाउने सास्तीमा कमी आउने थियो ।