एनसेलको दर्ता खारेजी गरी सरकारका स्वामित्वमा लिन क्रान्तिकारी कम्युनिष्ट पार्टीको माग




काठमाडौं ।
मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एनसेलको दर्ता खारेज गरी यसको सामित्वमा रहेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल सरकारसँग माग गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । उक्त पार्टीले नेपाल टेलिकमले भन्दा महङ्गोमा सेवा बेचेर नेपाली जनतालाई लुट्ने, सरकारलाई राजस्व नतिर्ने र आम्दानी जति सबै विदेश लगेर देशलाई टाटपल्टाउने एनसेल कुनै अर्थमा पनि नेपालको राष्ट्रिय हितमा नरहेको ठहर गर्दै एनसेलको दर्ता खारेजीको लागि माग गरेको हो ।




विज्ञप्तिमा भनिएको छ — ‘एजियाटा समूहले एनसेलमा रहेको आफ्नो पुरै ८० प्रतिशत सेयर बेलायत स्थित स्पेक्ट्रालाइट कम्पनीलाई जम्मा रु ६ अर्वमा विक्री गरेको भन्ने समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । २०१६ मा रु १ खर्व ४३ अर्वमा खरिद गरेको र वर्षेनी ४० अर्वदेखि ६० अर्व रुपियाँसम्म आम्दानी गर्दै आएको एनसेलको प्रमुख सेयर होल्डर एजियाटाले आफ्नो सम्पूर्ण सेयर जम्मा रु ६ अर्वमा बेचेको भन्ने मिडियामा प्रकाशित समाचारले मात्र पनि यस कारोवारमा गम्भीर आर्थिक चलखेल रहेको कुरा पुष्टि हुन्छ ।’

एनसेलले ७२ अर्व रुपियाँ करछली गरेको विषयमा सर्वोच्चमा परेको मुद्दा आजसम्म फैसला भएको छैन । दूरसञ्चार नियमावलीमा चुक्ता पुँजीको ५ प्रतिशत भन्दा बढी सेयर खरिद वा विक्री गर्नुपर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने कानुनी प्रावधानलाई समेत ठाडो उल्लङ्घन गरी एजियाटाले यो कारोवार गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता कञ्चनद्वारा जारी विज्ञप्तिमा भनिएको छ — करिब २ खर्वभन्दा बढी कूल सम्पत्ति रहेको पुरै एनसेल कम्पनी आगामी ६ वर्षभित्र नेपाल सरकारको स्वामित्वमा आउने निश्चित भएको स्थितिमा सेयर विक्रिको सूचना प्रकाशित हुनु र सत्ताधारी पार्टीहरु मौन रहनुले यस प्रकरणमा मुख्यतः नेपाल सरकार र शासक वर्गका नेताहरुको समेत मिलेमतो रहेको कुरा स्पष्ट छ । व्यक्तिगत तथा गुटगत आर्थिक लाभका निमित्त सरकार र राजनीतिक पार्टीका नेताहरुले गरेको यस प्रकारको गम्भीर राष्ट्रघाती तथा जनघाती कामको हाम्रो पार्टी कडा विरोध गर्दछ ।



सम्बन्धित
Loading...