भारतमै ८० प्रतिशत हिन्दु छन्, उतै हिन्दुराष्ट्र बनाए हुन्छ भनेका छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्म निरपेक्षताबारे मुलुकका प्रमुख शक्तिहरूबीच कुनै मतभेद नरहेको र सबै एक रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा सम्पादकहरूसँग कुरा गर्दै प्रचण्डले सबै प्रमुख दलले सोच विचार गरेरै संविधानमा सनातनदेखि चलिआएको धर्मको पनि रक्षा गर्ने र राज्य धर्महरूबीच निरपेक्ष रहे भनेर धर्मनिरपेक्षता राखेको बताएका हुन्।
पछिल्लो पटक धर्मका बारेमा विभिन्न नेताहरूको विभिन्न विचार आएको र नेपाली कांग्रेसको सभापतिले गणतन्त्र बाहेकका विषयमा संविधानमा भएका व्यवस्थाको बारेमा छलफल गर्न सकिन्छ भनेको विषयलाई लिएर प्रधानमन्त्रीले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिमा केही समयअघि हिन्दु धर्मको बारेमा छलफल भएको थियो। तर पार्टीले एक मतले संविधानका कुनै पनि मुख्य प्रावधान चलाउनु हुँदैन, नत्र धेरै कुरा बिग्रन्छ भन्ने निर्णय गरेको छ। त्यसले कांग्रेस संविधान हिन्दु धर्म राख्नुपर्छ भन्ने देखाउँदैन।’
प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले गणतन्त्र धर्म निरपेक्षताको बारेमा सार्वजनिक रूपमा पनि बचाउ गरिरहेको उनले बताए। ‘केपीजीले त सार्वजनिक रूपमा बोलिरहनु भएको तपाईंहरूले देख्नुभएकै छ’, उनले भने।
बाहिरका शक्ति र व्यक्तिहरूले संविधानमा हिन्दु धर्म राख्नेबारे चासो राख्दा आफूहरूले ‘तपाईंहरूकै देशमा हिन्दु धर्म राखे भयो नि’ भन्ने उत्तर दिने गरेको उनले बताए।
Laxmi bank
भारततर्फ इंगित गर्दै प्रधानमन्त्रीले भने, ‘डेढ अर्ब जनसंख्या र त्यसमध्ये ८० प्रतिशत हिन्दुहरू भएको भारतले नै संविधानमा हिन्दु धर्म राखे भयो नि भन्ने सुझाव दिने गरेका छौं।’
नेपाल मिलेर बसेको बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकोले यसलाई कसैले चलाउन नहुने उनले बताए।
Nchl
मेरै घरमा नातिनातिनाले टिकटक हेरेर दिनरात दिक्क लगाए, अरूको पीडा नि त्यस्तै रहेछ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकमा बिहानदेखि बेलुकासम्म मानिसहरू अल्झिएर समाजमा नकारात्मक असर परेकाले टिकटक बन्द गरिएको बताएका छन्।
प्रधानमन्त्रीले भने, ‘मेरै घरमा नातिनातिनाले जतिखेर नि टिकटक हेर्ने, अनि राति उठेर पनि टिकटक हेरेर दिक्कवाक्क लगाएका थिए, मैले कुरा सुन्दा अरूको पनि त्यस्तै हालत रहेछ।’
प्रमुख दलहरूको बैठकमा प्राय: सधैं सबै नेताहरूले टिकटकले गर्दा समाजमा धेरै समस्या र विकृति आएको भन्दै यसलाई बन्द गर्नुपर्ने सुझाउँदै आएको प्रधानमन्त्रीले बताए।
‘बैठक बस्यो कि प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीजीले त किन ढिलो गरेको टिकटक बन्द गर्न? देश त यसले खत्तम गर्न लाग्यो भनेको भनै गर्नुभयो’, प्रधानमन्त्रीले भने।
सबभन्दा ठूलो पार्टीको सभापति शेरबहादुर देउवाले पनि टिकटकले समाजलाई असर गरेको भन्दै यसलाई बन्द गर्न ढिलो गर्न नहुने सुझाएको प्रधानमन्त्री प्रचण्डले बताए।
‘सबै नेताहरूबाट त्यस्तो सुझाव आएपछि र मैले आफ्नै घरमा पनि समस्या देखेपछि हामीले टिकटक बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने।
भारत र चीन दुवै मुलुकमा टिकटक प्रतिबन्ध भएको पनि उनले बताए। सामाजिक सञ्जालबारे कानुन बन्ने प्रक्रियामा रहेको भन्दै प्रधानमन्त्रीले भने, ‘टिकटकलाई प्रतिबन्ध नगर्ने नियमन गर्ने मात्र तपाईंहरूको सुझाव हो भने त्यो पनि गर्न सकिन्छ।’
२६/२७ जनाका दुई समूह रसिया गएको सूचना आएपछि दिल्ली दूतावासलाई बुझ्न भनेका छौं- प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २६/२७ जनाका दुई समूह रसिया गएको सूचना आएपछि त्यसबारे बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई बुझ्न निर्देशन दिएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘दिल्ली दूतावासलाई भारतीय अधिकारीहरूसँग पनि समन्वय गरी यसबारे सत्यतथ्य बुझ्न भनेका छौं।’
कतिपय नेपालीहरू रसियन सेनामात्र नभएर युक्रेनी सेनाका तर्फबाट युद्ध लडिरहेको जानकारीमा आएको पनि उनले बताएका छन्।
‘अहिलेसम्म रसिया युक्रेन युद्धमा ६ जना नेपालीहरूको ज्यान गएको जानकारी प्राप्त भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने।
रसियन सेनामा नेपालीहरू भर्ना हुने नेपालको कुनै पनि नीति नभएकाले नेपालीहरूलाई सेनामा भर्ना नलिन सरकारले लिखित अनुरोध गर्न लागेको पनि उनले जानकारी दिए। ‘आजभोलि नै त्यसबारे पत्र पठाउँदै छौं’, उनले भने।