रत्नपार्कमा चलचित्र काँडेतार टिमको हस्ताक्षर संकलन

काठमाडौं । यही २५ फागुनबाट रिलिज हुने चलचित्र ‘काँडेतार’को निर्माण पक्ष यतिबेला हस्ताक्षर अभियानमा जुटेका छन् । नेपाल भारतको सिमानामा काँडेतार लगाउने माग सहित यो समुहले हस्ताक्षर संकलन गरेको छ । चलचित्रको टिमले काठमाडौंको रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको हो ।
‘हामीले चलचित्र काँडेतारको विभिन्न ठाउँमा गरिएको विशेष शोमा समेत सिमानामा काँडेतारको लागि हस्ताक्षर सँकलन गरेका छौं । सोही क्रममा आज काठमाडौंमा थप हस्ताक्षर संकलन गरिएको हो ।’ काँडेतारका निर्देशक एवम् अभिनेता नवल खड्काले भने,‘ यसरी देशभरबाट सँकलन गरेको नेपाली नागरिकको हस्ताक्षर हामी प्रधानमन्त्रीलाई बुझाउने छौं ।’
आफ्नो चलचित्र राष्ट्रिय भावनामा आधारित रहेको र भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु यसमा प्रस्तुत गरिएको पनि उनले हस्ताक्षर सँकलन कार्यक्रममा बताए,‘हाम्रो चलचित्रले भारतको विरोध गरेको हैन, नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत मात्र पेश गरेको हो ।’ नबलले भने ।
यो चलचित्रमा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, नादिया खड्का, सनया खड्कालगायतको कलाकारको अभिनय छ ।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको काँडेतारको छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।