एलिना चौहानको पक्षमा उभियो लोक तथा दोहोरीगीत प्रतिष्ठान




काठमाडौं । एलिना चौहान र साउण्ड सिस्टम व्यवसायीबीचको विवादमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गायिका बचाउको पक्षमा उभिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संस्थाले ध्वनी उपकरण उपलब्ध नगराउने भन्ने साउण्ड सिस्टम व्यवसायीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

उसले उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार र बहिष्कारको सोचबाट उद्धत रहेको टिप्पणी गरेको छ । अभिव्यक्तिलाई सच्याएर कलाकार र साउण्ड सिस्टम व्यवसायीको सम्बन्धलाई स्वच्छ राख्न आग्रह समेत गरेको छ ।




कलाकार र साउण्ड इन्जिनियरबीचको अन्योनाश्रीत सम्बन्धलाई ओझेलमा पार्ने गरि संवेदनशिल विषयमा एकपक्षीयरुपमा विज्ञप्ति जारी गरेको आरोप प्रतिष्ठानको छ ।

आइतबार सामाजिक संजालमार्फत बद्री पँगेनी, दीपक शर्मासहितका केही संगीतकर्मीले पनि यो विषयमा धारणा राखेका छन् । फागुन २० गते पर्वतमा सम्पन्न मगर महोत्सव २०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियनसँग विवाद भएको थियो । उक्त विवादपछि साउण्ड सिस्टम व्यवसायीले एलिनालाई माफी माग्न अन्यथा असहयोग गर्ने चेतावनी दिएका थिए ।

एलिना चौहान र साउण्ड टेक्निसियनबीचको विवाद उत्कर्षमा रहँदा साउण्ड सिस्टम नै उपलब्धि गराउने चेतावनी दिइएको छ । गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सका क्रममा साउण्ड सिस्टमको विषयलाई लिएर गायिका चौहान र साउण्ड टेक्निसियनबीच उत्पन्न विवाद सामाजिक सञ्जालमा भाइरल छ ।

सो घटनामा गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउण्ड सिस्टम व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गायिका चौहानले माफी नमागेसम्म उनी उपस्थित हुने कुनै पनि कार्यक्रम तथा ठाउँमा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका हुन् ।

यसैबीच, गायिका चौहानले आफू बहिस्कारसम्मको अवस्था आएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेकी छिन् । उनले उक्त दिन नहुनुपर्ने आकस्मिक घटना हुन पुगेको र सो घटनामा तत्कालीन समयमा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोप्रति आत्मालोचना गर्दछु भनेकी छन् ।



सम्बन्धित
Loading...