नवलपरासीका २ जना सहित रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु




रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु भएको छ । रुसको विदेश मन्त्रालयले गत २३ फागुन (मार्च ६)मै मस्कोस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै गराएको जानकारी कन्सुलर सेवा विभागमा पुगेको छ । यससँगै रुसी सेनामा रहेका ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ ।

यसअघि नै १७ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । मस्कोस्थित नेपाली राजदूतावासले १ चैतमा कन्सुलर सेवा विभागलाई चिठी पठाएर १६ जनाको शव पहिचानका लागि परिवारका सदस्यको डिएनए नमुना संकलन गर्न आग्रह गरेको छ । दूतावासका द्वितीय सचिव सुशील घिमिरेले विभागलाई पत्राचार गरेका छन् ।




विभागका महानिर्देशक प्रकाशमणि पौडेलले डिएनए नमुना संकलनका लागि दूतावासबाट चिठी प्राप्त भएको पुष्टि गरे । ‘मस्कोस्थित दूतावासबाट थप नेपालीको मृत्यु भएको जानकारीसहितको पत्र प्राप्त भएको छ । उनीहरूको पहिचान गर्न डिएनए संकलन गर्न आग्रह गरिएको छ,’ उनले भने ।

रुसको विदेश मन्त्रालयले नेपाली दूतावासलाई बुझाएको मृतकको सूचीमा तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुनमगर, बाँकेका चन्द्रप्रकाश बिसी, प्युठानका सोमेश सुनार, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमकुमार भुजेल, मकवानपुरका विजयबहादुर थोकर, धनुषाका विमलकुमार गजमेर, मोरङका गयानन्द साह, विकास राई र घनश्याम शाही तथा नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बिसी छन् । त्यस्तै, ठेगाना नखुलेका अभिषेक बुढा, क्षितिज बस्नेत र जितबहादुर घिसिङको पनि मृत्यु भएको पत्रमा उल्लेख छ ।

यसअघि सरकारले १ चैतमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको सार्वजनिक गरेको थियो ।

त्यसअघि नै सरकारले मृतक १० जनाको सूची सार्वजनिक गरेको थियो । जसमा, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरी छन् ।
कन्सुलर विभागका अनुसार मृत्यु भएकाहरूमध्ये परिवारको सहमतिमा सन्दीप थपलिया, रूपक कार्की र देवान राईको रुसी सेनाले अन्तिम संस्कार सम्पन्न गरिसकेको छ ।रुसी सेनामा कार्यरत र पीडितहरूसँग समन्वय गरिरहेकी कृतु भण्डारीले डिएनएको नमुना परीक्षण दिन सरकारी निकायले सहजीकरण नगरेको बताइन् । ‘परिवारका सदस्य गुमेको पीडामा काठमाडौं आएका परिवारलाई प्रक्रियागत अन्योल छ । एकै ठाउँबाट सहजीकरण गर्नुको साटो असहयोग भएको अनुभूति परिवारजनलाई भएको छ,’ उनले भनिन् ।



सम्बन्धित
Loading...