मेसिनगन बोकेर सर्वोच्च अदालत पुगेका प्रसाईंका बडीगार्ड पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।
सोमबार प्रसाईंको मुद्दामा सुनुवाइ हुँदै थियो । त्यसैका लागि उनी बिहान १० बजे बडीगार्डसहित सर्वाेच्च पुगेका थिए । प्रसाईं र उनका सुरक्षागार्ड खड्का सर्वोच्चको मूलगेटबाट सँगै र अर्का बडीगार्ड धिमाल अर्को गेटबाट छिरेका थिए ।सोही क्रममा गेटमा रहेका सुरक्षाकर्मीले उनको खानतलासी लियो । झोलामा लुकाई राखिएको ‘अर्मेनिया परिनी एसएलआर–इटाली, मेडइन स्विडेन, जिएसजी–५’ लेखिएको स्वचालित हतियार फेला परेको थियो । प्रहरीले झोलाभित्र हतियारको सानो म्यागजिन २, ठूलो म्यागजिन २, म्यागजिनको होल्ड १ र गोली १०० राउन्ड फेला पारेको छ ।
लाइसेन्स लिइएको हतियार सम्बन्धित व्यक्तिबाहेक अन्यले बोक्न पाउँदैन । प्रहरीका अनुसार बरामद हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिइएको छ । अनुमति प्रसाईंका नाममा र बाहकका रूपमा बडीगार्ड खड्काको नाम छ । तर, उक्त हतियार उनका अर्का बडीगार्ड धिमालको साथबाट बरामद भएको छ । जुन कानुनविपरीत हो ।
हातहतियार खरखजाना नियमावली ०२८ को उपनियम ३ अनुसार व्यक्तिले अनुमति लिएर १२, १६, २०, ४१० बोरको टोटावान बन्दुक लिन पाउँछ । तर, जुन व्यक्तिको नाममा अनुमतिपत्र लिइएको छ, सो व्यक्तिबाहेक अन्यले उक्त हतियार लिएर हिँड्न पाउँदैन । र, अनुमति लिँदा तोकिएको क्षेत्रबाहेक अन्यत्र लैजान पाइँदैन । लैजानै परे सम्बन्धित निकायको अनुमति लिनुपर्छ ।
हातहतियार खरखजाना नियमावली ०२८ को अनुसूची–६ को १ मा ‘इजाजतपत्र (लाइसेन्स) बमोजिमको हातहतियार खरखजाना इजाजतपत्र (लाइसेन्स) मा लेखिएको मानिस र इलाकाको हकमा मात्र लागू हुने हुँदा त्यस्तो इजाजतपत्र (लाइसेन्स) मा तोकिएको हातहतियार खरखजाना कसैलाई दिन वा नियमबमोजिम इजाजतपत्र (लाइसेन्स) स्वीकृत नगराई अन्यत्र लिएर जान हुँदैन,’ भनिएको छ ।
तर, सर्वोच्चको गेटबाट बरामद हतियारको हकमा न अनुमति लिइएको व्यक्तिको साथबाट हतियार बरामद भएको छ, न काठमाडौंसम्म हतियार ल्याउन सम्बन्धित निकायबाट अनुमति नै लिइएको छ । त्यसो हुँदा सर्वोच्चमा प्रसाईंले गरेको गतिविधि गैरकानुनी देखिएको छ ।