डिग्री माइलामा दयाहाङको फुर्ती

काठमाडौं । आगामी ३१ चैतमा रिलिज हुने चलचित्र डिग्री माइलाको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । यो ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । यतिबेला यो चलचित्रको ट्रेलर युट्युब नेपाल ट्रेन्डिङमा छ ।
थर्ड डिजिभनमा एमए पास गरेका दयाहाङलाई गाउँकै कलेजबाट प्रध्यापनका लागि प्रस्ताव आउँदा आफूलाई तलब खुवाउने हैसियत कलेज सञ्चालकसँग नभएको भन्दै उनले त्यहाँ जागिर खाँदैनन् । जसका कारण उनलाई अपहरण गर्नुपर्ने हुन्छ । अन्यथा क्याम्पसको सम्बन्धन नै खारेज हुने अवस्थामा पुगेको ट्रेलरमा उल्लेख छ ।
यसअघि अभिनेता दयाहाङ राईको निर्देशनमा ‘डिग्री माइला’लाई नाटकका रूपमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । त्यसमा केही परिवर्तन गरेर चलचित्रका रूपमा ल्याइएको पनि अभिनेता दयाहाङले जनाएका छन् ।
सिनेमालाई बाँसुरी फिल्मसले कबड्डी फिल्मस तथा सुस्मा फिल्मससँग मिलेर निर्माण गरेको हो । यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । यसमा अभिनेत्री ऋचा शर्र्मा अतिथि भूमिकामा छिन् ।
निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको सिनेमालाई क्यामेरा म्यान शिवराम श्रेष्ठले खिचेका हुन् । नेपाली उखान ‘किन चाउरिस मरिच आफ्नै रागले’मा यो चलचित्रको कथा आधारित रहेको निर्देशक रामबाबुले बताए ।