अनियमित विद्युत कटौतीको विरुद्ध नगरप्रमुख उपप्रमुख धर्ना बसे

बारा । बारामा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् । केही समययता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको हो ।
अत्यधिक गर्मीको समयमा दैनिक विद्युत आपूर्ति अनियमितता हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । तराईमा दैनिक बढ्दै गइरहेको गर्मीमा विद्युत अनियमितता हुँदा स्थानीयले सास्ती भोगिरहेका हुन् ।
३८ डिग्री माथिको चर्को गर्मी खेपिरहेका स्थानीयले विद्युत कार्यालयले नियमित रूपमा विद्युत आपूर्ति नगर्दा र झ्यापझ्याप बत्ती काट्ने समस्या छ ।
प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएपछि नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ बितरण केन्द्र, सिम्रौनगढको कार्यलयमा पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारको नेतृत्वमा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुन लगाएत दर्जनौं स्थानीयले कार्यालयको गेटमा घना दिएका हुन ।
विद्युत प्राधिकरणसंग पटक पटक विद्युत आपूर्ति सहज गर्ने सहमति भएको भएतापनि प्राधिकाणले सुधारमा कुनै चासो नदिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन ।
नगरप्रमुख सहित स्थानीयहरूले विद्युत कार्यालयले चर्को गर्मीमा पनि विद्युत नियमित आपूर्ति नगरेको भन्दै चर्को विरोध जनाइरहेका थिए । अत्यधिक गर्मीका साथै तातो हावाबाट पीडित बनेका स्थानियबासीहरुले विद्युत कार्यालयले नियमितरुपमा विद्युत आपूर्ति गर्नुपर्ने माग राखेका छन् ।
पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले गर्मीका बेला हरेक वर्ष पचरौतामा विद्युत आपूर्तिमा यस्तै समस्या हुँदै आए पनि यसको दीर्घकालीन निकासका लागि ठोस काम गर्न विद्युत कार्यालयकुनै उपायहरु नअपनाएको बताए । उनले भने,‘यस्तो चर्को गर्मीमा पनि नियमित विद्युत आपूर्ति नगरेर जनतालाई अत्यन्तै पीडा दिनैकार्य भएको छ । खेती गर्ने किसानलाई समेत निकै समस्या छ भने विद्युतका कारण पचरौता नगरपालिकाको समेत कामकाजमा समस्या भएपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो ।’
उनले तत्काल विद्युत समस्या समाधान गरी नियमित आपूर्ति गर्न आग्रह गर्दै भने,‘त्यसैपनि यस्तो गर्मीमा हामी नागरिकहरू पीडामै छौँ, त्यसमाथि विद्युतले आफ्नो मनलाग्दी बत्ती काटेर हैरान पारेको छ, रातीमा सुत्नै नसक्ने अवस्था छ, रातीमा ढिलासम्म सुत्न नपाउँदा बिहान अबेरसम्म सुत्नुपर्दा दैनिक कामकाजमा पनि असर पुगेको छ ।’
स्थानियले विद्युत समस्या समाधान गर्न विद्युत कार्यालयले अत्यन्तै गम्भीर भएर लाग्नुपर्ने बताएका छन । ‘सम्पर्क गर्दा फोन उठ्दैन, उठिहाल्यो भनेपनि मर्मत सम्भार हुँदैछ भन्ने उत्तर आउँछ ।’ स्थानिय मुकेश कुमार सिंहले भने,‘पूर्वतयारीमा कहिले विद्युत कार्यालय देखिदैन, यस्तो गर्मीमा विद्युत अनियमित हुनु अत्यन्तै दुःखद हो ।’
झ्याप्प–झ्याप्प विद्युत आउजाउ हुँदा पंखा, पानी तान्ने मोटर, टिभी, फ्रिज, कम्प्यूटर लगायतका बिद्युतीय उपरकण जल्ने गरेका छन् । यसबाट सर्वसाधरणले लाखौं क्षति व्यहोर्नु परेको छ । नेपाल विद्युत प्राधिकरणको यो रवैयाप्रति स्थानीय आक्रोसित छन् । यसैले फरकफरक ढंगले सर्वसाधरणले प्राधिकरणको विराधे गर्ने, डेलिगेसन जाने, विद्युत आपूर्ति सहज बनाउन वा अघोषित लोडसेडिङ भन्दा कार्यतालिका बनाएरै घोषित लोडसेडिङ गर्न भनिरहेका छन् ।