कावासोतीमा घर कोही नभएको मौकामा नगद र गरगहना गरी ८ लाख बढी चोरी

रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको कावासोतीमा गएराति घर कोही नभएको मौकापारी चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घर कोही नभएको मौका पारी कावासोती १६ तिनघरे स्थित हुपलाल विकको घरमा चोरी भएको हो ।
उनको घरबाट १ लाख ५० हजार नगद, औठी, तिलहरी, सिक्री लगायतका गरी ५ तोलाबराबरको सुनको गरगहना, खुत्रुकेमा बचत गरेको रकम, काँसका भाडाकुडा गरी ८ लाख बढीको नगद र गरगहना चोरी भएको हो ।
केही अपरिचित व्यक्तिहरुले घरको मुलगेटको ताला फोरी चोरी गरेको प्रहरीले जनाएको छ ।
हुमपाल विक कावासोती १ हात्तीखारमा आफ्नो दाजुको मृत्यु भएको घर गएका थिए ।
घटना स्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गर्ने काम भईरहेको प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
उनका अनुसार अहिले नवलपुरमा घर कोही नभएको मौका छोपी चोरी गर्ने घटनाहरु बढेको छ ।