नवलपरासीमा तीन स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीयलाई सास्ती

परासी । पश्चिम नवलपरासीका तीन स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीयलाई सास्ती भएको छ ।
नवलपरासीको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाले अझै जग्गाको वर्गीकरण नगर्दा सेवाग्राही मर्कामा परेका हुन । पालिकाले जग्गा वर्गीकरण नगर्दा उक्त क्षेत्रमा जग्गा कित्ताकाट रोकिएको छ जसले गर्दा जग्गा किनबेचमा समेत प्रभावित भएको स्थानीयले बताएका छन् ।
सरकारले गत वर्ष जारी गरेको भू–उपयोग (पहिलो संशोधन) नियमावली २०८० अनुसार स्थानीय तहले एक वर्ष भित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने भए पनि सुनवल, रामग्राम र सरावलले अझै जग्गाको वर्गीकरण नसकेको नापी कार्यालय परासीका प्रमुख कैलाशनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार बर्दघाट नगरपालिका, पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाले मात्र समयमै जग्गा वर्गीकरणको काम सकेको हो ।
कृषि, आवास, औद्योगिक क्षेत्र लगायतका क्षेत्र वर्गीकरण गरेर जग्गा वर्गीकरण गर्नु पर्ने छ । समयमै जग्गाको वर्गीकरण नगरेका कारण रामग्राम, सुनवल र सरावलमा भदौ १ गतेदेखि कित्ताकाट रोकिएको नापी कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । कित्ताकाट रोकिएपछि सर्वसाधारण मर्कामा परेका छन् भने घरजग्गा कारोबारमा समेत असर देखिएको छ ।
रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले जग्गा वर्गीकरणको डिजिटल फाईल सम्बन्धित कार्यालयमा बुझाईसकेको दाबी गरे । सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले गत वर्ष जग्गा वर्गीकरणको कामका लागि बजेट अभाव भएकोले काम अघि बढ्न नसकेपनि यस वर्ष प्राथमिकताका साथ वर्गीकरणको काम अघि बढिसकेको जानकारी दिए ।