हुलाकी सडकको काम छिटो गर्न माग गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष नै धर्नामा


 



नवलपरासी — पश्चिम नवलपरासीमा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडक निर्माणको काम ढिला सुस्ती भएको भन्दै गाउँपालिका अध्यक्ष नै धर्नामा बसेका छन् ।

 

हुलाकी सडक निर्माणमा ढिलाई हुँदा स्थानीयले सास्ती पाएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहित जिल्लाका राजनीतिक दल र सरोकारवालाहरुले आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । आज १ घण्टा धर्ना बसेको टोली आफ्ना मागलाई बेवास्था गरे आमरणअनसनमा बस्ने सम्मको चेतावनी दिएका छन् ।

 




हुलाकी सडक निर्देशनालयअन्तर्गत गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि पालिकाले तत्काल कामलाई अगाडि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि पालिका अध्यक्षको नेतृत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसहित धर्ना दिएका हुन् ।

 

यसअघि प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले संघ सरकारलाई पत्राचार गर्दै १५ दिनभित्र काम अगाडि नबढाएमा धर्ना र आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । सडक निर्माणका क्रममा खनिएका खाडलले गर्दा हिउँदमा धूलो र वर्षामा हिलोले दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक–पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल पहलकदमी लिन माग गरिएको छ ।

 

२०७० सालमा निर्माण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । जसका कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । जिल्लाका राजनीतिक दलका प्रतिनिधिले सडक निर्माणको काम तत्काल अगाडि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले आजदेखि आफूले आन्दोलन शुरु बताउँदै भदौ २५ गतेदेखि ३ दिन इलाका प्रशासन कार्यालय सेमरी अगाडि गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सहित रिले अनसन बस्ने र भदौ २८ गतेदेखि आमरण अनसनमा बस्ने बताए ।



सम्बन्धित
Loading...