बौदीकालीमा १८ करोडको अस्पताल भवन बन्यो

अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण अभाव





नवलपुर । नवलपुरको पहाडी क्षेत्रमा रहेको बौदीकाली गाउँपालिकामा १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । तर दरबन्दी र उपकरण अभावले अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

भवन निर्माण भए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । केन्द्र सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भवन निर्माण गरिएको हो ।


गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडा मगरले हाल यहाँ रकुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई विस्तार गरेर बौदीकाली आधारभूत अस्पतालका रूपमा विस्तार गर्न लागिएको भए तापनि अस्पतालका लागि चाहिने कुनै पनि उपकरण र जनशक्ति नभएकोले अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताए ।

नयाँ बनेको अस्पताल भवनको आडमै रकुवा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ तर आडमै बनेको दरबार जत्रो अस्पताल भवन भने अहिले बन्द अवस्थामा छ । रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा नै अहिले दैनिक ३० देखि ४० जना बिरामी आउने गरेका छन् ।

प्रथामिक स्वास्थ्य केन्द्रकै दरबन्दी र उपकरणले अस्पताल सञ्चालन गर्न आर्थिक र जनशक्ति सबै हिसाबले अप्ठेरो हुने बौदीकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडा मगर बताए ।

अहिले अस्पतालमा चाहिने टेबल कुर्ची समेत छैन । प्राथमिक स्वास्थ्य अस्पतालका लागि २८ जनाभन्दा बढीको दरबन्दी हुनुपर्नेमा अहिले एक जनाको पनि दरबन्दी नरहेको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

दरबन्दी अभाव र उपकरण अभावका बीच बौदीकाली गाउँपालिकाले भने नयाँ भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाश ओझाले अस्पताल भवन निर्माण सकिए लगतै दरबन्दी मिलान लगायतका विषयमा आफूले पहल गरिरहेको र १ महिना भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीबाट अस्पतालको उद्घाटन गराउने तयारी गरेको बताए ।

उनले तत्काल दरबन्दी मिलान नभए पनि रकुवा प्राथमिक स्वास्थ्य केन्द्रको जनशक्तिले भए पनि तत्काललाई अस्पताललाई सञ्चालनमा ल्याउने जानकारी दिए ।

यो अस्पताल सञ्चालनमा आउन सके बौदीकाली गाउँपालिकाको मात्र नभएर नवलपुरको बुलिङटारका साथै तनहूको नवलपुरसँग सिमाना जोडिएका केही पालिकाका बासिन्दाहरुलाई पनि स्वास्थ्य सेवामा पहुँच बढ्ने गाउँपालिका अध्यक्ष ओझाले बताए ।



सम्बन्धित
Loading...