कोष तथा लेखा नियन्त्रणले भन्योः कावासोती नगरपालिकाले एमाले पार्टी कार्यालय बनाउन रकम दिनु चरम आर्थिक अनियमितता





नवलपरासी — कावासोती नगरपालिकाले एमालेको जिल्ला पार्टी कार्यालय भवन बनाउन २७ लाख रुपैयाँ निकासा दिएको छ । पार्टी कार्यालयको भवन निर्माणमा सरकारी पैसा निकासा हुनुलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले चरम आर्थिक अनियमितता र दुरुपयोग भनेको छ ।

कावासोती नगरपालिका वडा नम्बर ३ स्थित ४,ख कित्ता नम्बर १०४८ र १०४९ मा एक निजी बोर्डिङ स्कुलका सञ्चालकले दिएको १ कठ्ठा ६ धुर जग्गामा पार्टी भवन बनाउन नगरपालिकाले रकम निकासा दिएको हो । गत असोज २० गते आइतबार कावासोतीमा सम्पन्न एमाले जिल्ला कमिटीको बैठकको निर्णय नम्बर ८ मा भवनकालागि कावासोती नगरपालिकावाट रकम निकासा भएको उल्लेख छ । बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य एवं एमाले नेता तिलक महतको उपस्थितीमा भएको हो ।


नगरपालिकाले भवन निर्माणका लागि ३० लाख रकम बिनियोजन गरिएकोमा बिल भर्पाई मिलाउँदा २७ लाख मात्र निकासा दिइएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

भवन निर्माण सम्पन्न भइसकेपछि नगरपालिकाले दसैंअघि रकम भुक्तानी दिएको हो ।

एमाले जिल्ला सचिव भीम कँडेलले मदन भण्डारी स्मृति संस्थाका नाममा २७ लाख रकम निकासा गरेर पार्टी कार्यालयको भवनमा लगानी गरेको जानकारी दिए । सोझै पार्टी कार्यालयलाई दिन नमिल्ने भएकाले त्यसरी रकम निकासा गरिएको उनले सुनाए । नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले पनि उक्त रकम मदन भण्डारी स्मृति संस्थाका लागि दिइएको बताइन् ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले दुईपटकसम्म नगरसभाले मदन भण्डारी स्मृति संस्थाका नाममा रकम निकासा गर्ने निर्णय गरेको बताए ।’ सभाले ३० लाख दिने निर्णय गरेको भए पनि प्राविधिक मूल्यांकनका आधारमा २७ लाख रुपैयाँ मात्रै निकासा दिइएको हो,’ उनले भने ।

पूर्वी नवलपरासीको सदरमुकाम रहेको कावासोती नगरपालिकामा मेयर , उपमेयरसहित स्पष्ट बहुमत एमालेको रहेको छ । यहाँ अघिल्लो पटक पनि एमालेले स्पष्ट बहुमत ल्याएको थियो ।



सम्बन्धित
Loading...