२४ घण्टा भित्र फोहोर उठाउन माओवादी केन्द्रको नगरपालिकालाई अल्टिमेटम
रामकुमार श्रेष्ठ –
नवलपुर । नेकपा माओवादी केन्द्र कावासोती नगर कमिटिले २४ घण्टा भित्र फोहोर उठाउन कावासोती नगरपालिकालाई अल्टिमेटम दिएको छ ।
नेकपा माओवादी केन्द्र कावासोती नगर अध्यक्ष बलराम ढकालको नेतृत्वमा गएको माओवादी केन्द्रका टोलीले कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेललाई ज्ञापन पत्र बुझाउँदै यस्तो अल्टिमेटम दिएको हो ।
उनीहरुले तत्काल फोहोर नउठाए नगरपालिका अगाडि ल्याएर फोहोर फालिदिने चेतावनी दिए । त्यसैगरी फोहोर व्यवस्थापन नहुँदा नगरबासीमा रोगको महामारी बढ्न सक्ने खतरा रहेको पनि जनाइएको छ ।
कावासोती नगरपालिकामा नगरप्रमुख विष्णु भुसाल नगरपालिका नभएका कारण उनीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले कावासोती नगरपालिकाले फोहोर वर्गीकरणको काम ८० प्रतिशत सकिएकोले अब केही दिनमै फोहोर उठ्ने बताए ।
उनले नगरपालिकाले दीगो रुपमा फोहोर व्यवस्थापनको लागि पनि अध्ययन गरिरहेको पनि जानकारी गराए ।
कावासोतीमा १ महिनादेखि फोहोर उठ्न सकेको छैन । कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले नगरपालिकाले पहिले प्रतिबद्धता गरे अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै उठाउन रोक लगाएको थियो ।