नवलपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाइते

नवलपुर, जेठ १८ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र देवचुलीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाइते भएका छन् । गैँडाकोट–८ बिजयचोकमा माइक्रो बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
दाङबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ४ ख ५०५० नम्बरको माइक्रो बस दुर्घटना हुँदा ७ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार घाइते गोर्खा पालुङटार नगरपालिका–७ का ४२ वर्षीया शान्ता विक र ४५ वर्षिय कमल विक, दाङ तुलसीपूर उपमहानगर–१ का ३७ वर्षिय कृष्ण कुमार नेपाल र ५० वर्षिय धर्मराज केसी तथा दाङको घोराही नगरपालिका–५ का ५० वर्षिया गिता वलीको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
त्यस्तै नवलपुरको मध्यविन्दु–९ का २१ वर्षिय सुवास श्रेष्ठ र २२ वर्षिया रेजिना श्रेष्ठको स्थानीय सामुदायिक मेडिकलमा उपचार भइरहेको छ ।
यस्तै नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा भारतीय कारले मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालक घाइते भएका छन् ।
प्रगति टोलबाट प्रगतिनगर चोक तर्फ आँउदै गरेको लु ६२ प ८६१२ नम्बरको मोटर साइकललाई दलदलेबाट कावासोती तर्फ जाँदै गरेको युपी ९३ एफ २०२१ नम्बरको भारतीय कारले ठक्कर दिँदा देवचुली–१३ का ६८ वर्षीय चुडामणी पौडेल घाईते हुनु भएको हो । उहाँलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।