२३ हजारलाई सचेतना फैलाउँदै नवलपुरमा सकियो ट्राफिक सप्ताहा

नवलपुर ।
करिब २३ हजार आमनागरिकलाई ट्राफिक नियम सम्बन्धी सचेतना जगाउँदै जिल्ला ट्राफिक कार्यालय नवलपुरले आयोजना गरेको ट्राफिक सप्ताह २०८२ सकिएको छ ।
२५ गतेबाट ट्राफिक सप्ताहा शुरु गरिएको थियो । जसअन्तरगत सचेतना र्याली, पर्चा पम्प्लेट वितरण, हाजिरी जवाफ प्रतियोगिता, माइकिङ, स्टिकर टाँस, यात्रु र चालकलाई सचेतना कार्यक्रम आदि गरेर ट्राफिक सप्ताहा मनाइएको हो ।
ट्राफिक सप्ताहाका अवसरमा गरिएका २ सय ५६ वटा गतिविधिबाट २२ हजार ९ सय २७ जना लाभांवित भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए ।
यसैबीच शनिबार ट्राफिक सप्ताहामा सहयोग गर्ने विभिन्न संघ संस्थालाई ट्राफिक प्रहरीले सम्मान गरेको छ ।
शनिबार ट्राफिक सप्ताहाको समापनको अवसरमा पत्रकारहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बाल क्लब, यातायात व्यवसायी लगायतले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक जनक बन्जाराले चालु आर्थिक बर्षको पछिल्लो ११ महिनामा नवलपुरमा भएका १ सय वटा सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएको जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दुर्घटनामा ज्यान गुमाउनेका संख्या माहामारीमा ज्यान गुमाउनेको संख्या भन्दा पनि ठूलो रहेको बताउँदै दुर्घटनाबाट बच्ने एउटै उपाय भनेको ट्राफिक नियमको पालना गर्नु र कम गतिमा सवारी साधन चलाउनु रहेको बताए ।
त्यसैगरी शनिबार साँझ कावासोतीको फलफूल चोकमा दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्जवलन गरिएको छ ।