विनयी खोलामा अब डाइभर्सन नबन्ने, नयाँ पुल १४ असारमा मात्र सञ्चालनमा आउने   




रामकुमार श्रेष्ठ –

नवलपुर । दुम्किबासको विनयी खोलामा डाइभर्सन अब डाइभर्सन नबनाइने भएको छ । डाइभर्सन बनाएको केही समयमै खोलाले डाइभर्सन बगाउने गरे पछि डाइभर्सन नगराउने भएको नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।



डाइभर्सन बनाएर यातायात सुचारु गर्दा डाइभर्सनबाट यात्रा जोखिमपूर्ण बनेको भन्दै विनयी खोलामा डाइभर्सन नगराउने पक्षमा नवलपुरका सुरक्षा अधिकारीहरु पुगेका हुन् ।

मनसुन सक्रिय भएसँगै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड हरेक दिन अवरुद्ध हुन थालेपछि प्रहरी प्रशासनले वैकल्पिक रुटबाट सवारीसाधन चलाउन सुझाएका छन् । नवलपरासीको दाउन्ने र दुम्कीबास क्षेत्रमा पछिल्ला चारै दिन सडक अवरुद्ध हुने र खुल्ने भइरहेको छ ।

बिहीबार साँझ केही समय यातायात सञ्चालनमा आए पनि रातिबाट फेरि अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (पूर्व) का प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । विनयी खोलामा बस फसेपछि बिहीबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो भने दाउन्नेमा हिलो र चिप्लो भएपछि शुक्रबार बिहानदेखि अवरुद्ध बनेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालले तत्काल सडक खुल्ने अवस्था नरहेको बताए । ‘विनयी खोलामा पानीको वहाब घटेको छैन । त्यही भएर डाइभर्सन बनाउन सकिएको छैन,’ उनले भने, ‘दाउन्नेमा पनि बाटो हिलो र चिप्लो छ । गाडी उकालोमा उक्लन सक्ने अवस्था छैन ।’

निर्माणाधीन सडक हरेक दिन अवरुद्ध हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सूचना नै जारी गरी ११३ किलोमिटर दूरीको बुटवल–नारायणगढ सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ । विनयी खोलामा नयाँ पुल २३ जेठमा निर्माण सम्पन्न भए पनि १४ असारमा मात्र सञ्चालनमा आउनेछ । तैपनि दाउन्नेखण्ड सहज नभएकाले यो बर्खाभर नै यात्रा सहज हुनेछैन ।

कालीगण्डकी करिडोरमा पनि समस्या 

बुटवल–नारायणगढ सडकखण्ड लगातार बन्द भएपछि वैकल्पिक मार्गका रूपमा चलाइएको कालीगण्डकी करिडोरमा पनि समस्या आउन थालेको छ । गैँडाकोटदेखि पाल्पाको रामपुर हुँदै बुटवलसम्म पुग्न सहज हुने बाटो कालीगण्डकी करिडोरमा पनि सडक अवरुद्ध हुन थालेको छ । गैँडाकोटमा पर्ने तरंगे खोलामा बिहीबार राति चार घण्टा सडक अवरुद्ध भएको स्थानीय यमबहादुर श्रेष्ठले बताए । सवारीसाधन जाममा पर्न थालेका छन् ।

विनयी खोलामा मध्यराति बस फस्यो, यात्रुको सकुशल उद्धार

नारायणगढ–बुटवल खण्डको नवलपरासीको विनयी खोलाको पुल गत पुसमा भासिँदा डाइभर्सन गरेर गाडी गुडाइँदै आएको छ । बुधबार राति बगाएको डाइभर्सन बिहीबार बनाएर यातायात नियमित गरिएको थियो । तर, काठमाडौंबाट दाङका लागि छुटेको भे.१ख ४०८५ नम्बरको बस बिहीबार राति ११ बजेतिर खोलामा फस्यो ।

 

खोलाको बिचभागमा फसेको बसका ३८ यात्रुलाई प्रहरी र सशस्त्र प्रहरीको टोलीले डेढ घण्टा लगाएर सुकुशल उद्धार गरेको छ । जेसिबीको बकेटमा राखेर र क्रेनबाट यात्रुलाई खोला पार गराइएको नवलपरासी (पूर्व) का प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । उद्धारको करिब १० मिनेटमा बस खोलाले बगाएको थियो । खोलाले बगाएको बस शुक्रबार बिहान पाँच सय मिटर तल फेला परेको छ ।

 



सम्बन्धित
Loading...