जिल्ला समन्वय समिति नवलपुरको आठौं जिल्ला सभा सम्पन्न

नवलपुर । कालीगण्डकी कोरिडोरलाई सडकका रूपमा मात्रै नभई उत्पादनसँग जोड्ने अभियानमा प्रदेश सरकार लागेको गण्डकी प्रदेशकी कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले बताएकी छिन् ।
जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार आयोजना गरेको आठौँ जिल्ला सभामा सम्बोधन गर्दै मन्त्री जिसीले यस्तो बताएकी हुन् ।
मन्त्री जिसीले कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम मार्फत कालीगण्डकी कोरिडोरलाई कृषि उत्पादनसँग जोड्नका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले कालीगण्डकी कोरिडोरलाई गाडी हिँड्ने बाटोका रूपमा मात्रै नभाई यहाँबाट उत्पादन भएका कृषि उपजलाई ट्रकका ट्रक लोड गरेर बजार पठाउने माध्यमका रूपमा लिएका बताए ।
कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारसँग साझेदारीका कार्यक्रम समेत नीति कार्यक्रमै राखिएको बताउँदै स्थानीय सरकार भनेको जनताको नजिकको सरकार भएकोले जबसम्म स्थानीय सरकार बलियो हुँदैन तबसम्म समृद्धि हासिल गर्न नसकिनेमा उनले जोड दिए । उनले सबै मिलेर काम गर्न सके मात्र देशमा समृद्धि आउनेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, लक्ष्मण बहादुर पाण्डे समेतले बोल्दै नवलपुरका साझा समस्याहरूलाई एक मन एकताका साथ सबै राजनैतिक दलहरू मिलेर समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशन बहादुर गाहाले नवलपुर जिल्लाबाट प्रदेश राजधानी पोखरा जाने बाटो निर्माणको काम बेलैमा सक्ने तर्फ प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले कार्यालयबाट भएका कामहरूका बारेमा प्रस्तुतीकरण थिए ।