नेकपा बहुमतद्वारा भूमाफिया भन्दै बस्याललाई कालो मोसो दले
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा स्थानीय बासिन्दाले बर्षौदेखि जोतभोग गर्दै आएको विघौं विगाहा जग्गा जालसाजी पूर्ण तरिकाले आफ्नो नाममा बनाएका क्यूप्रसाद बस्याललाई नेकपा बहुमतले कालोमोसो दलेको छ ।
नेकपा बहुमत नवलपुरका जिल्ला सेक्रेटरी अमर गोपालीका अनुसार बस्यालले आफ्नो नाममा बनाएको जग्गा स्थानीयलाई फिर्ता गर्न अटेर गर्ने, स्थानीयलाई दुःख दिने र जग्गा फिर्ता गरिदिन्छौं भन्दै पैसा असुल्ने गरेको पाइएको छ ।
क्यूप्रसाद बस्याल अहिले देवचुली नगरपालिकामा बस्दै आएका छन् । उनलाई देवचुलीमै कालो मोसो दलिएको जिल्ला सेक्रेटरी अमर गोपालीले बताए ।
नेकपा बहुमतले उपलब्ध गराएको भिडियोमा कालो मोसो दलेपछि बस्याल तिब्र गतिमा भागेको देख्न सकिन्छ ।
कावासोती ४ हसौरामा करिब ७० विगाहा जग्गा क्यूप्रसाद बस्याल लगायतका भूमाफियाहरुले आफ्नो नाममा गराएका छन् । उक्त जग्गा फिर्ताको लागि स्थानीय तहले पटक पटक प्रयास गर्दै आएको कावासोती ४ का वडाध्यक्ष नारायण लोहोनीले बताए ।
नेकपा बहुमतले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी समेत लिएका छन् ।
नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर गोेपालीले क्यूप्रसाद बस्याललाई अहिले सांकेतिक कारवाही गरेको र जसको जग्गा हो उसको नाममा फिर्ता नगरे कडा कारवाही गर्ने चेतावनी समेत दिए ।