नवलपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या




रामकुमार श्रेष्ठ – 
नवलपुर । नवलपुरमा घरायसी विवादका कारण श्रीमान श्रीमती बीच विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ उदयटारी निवासी ५० बर्षीय महेन्द्र पौडेलले घरायसी विवादमा आफ्नै श्रीमती ४७ बर्षीया गोमा पौडेलको हत्या गरेका हुन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज विहान साढे १० बजेतिर उनले तरकारी काट्ने चक्केले आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका हुन् ।

हत्यामा सम्लग्न श्रीमान महेन्द्र पौडेललाई चक्कु सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

घटना स्थल अस्थायी प्रहरी चौकी सर्दीबाट २ कि.मी.पुर्वमा पर्दछ । घटना बारे थप अनुसन्धान भईरहेका कारण हत्याको यथार्थ कारण खुल्न बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

मृतक गोमा पौडेल ग्रिन फाउण्डेशन नवलपुरका जिल्ला उपाध्यक्ष हुन् ।
स्थानीय बासिन्दाका अनुसार विहानै सँगै खेत गोडेको दम्पत्ति घर फर्किएका थिए । घर फर्किपछि श्रीमतीले छोरालाई स्कूल छोडेर आएपछि श्रीमान श्रीमती बीच एक्कासी झगडा शुरु भएको स्थानीयले जनाएका छन् ।

श्रीमतीको हत्या गरेपछि श्रीमानले आफै चक्कु सहित गएर प्रहरीमा आत्मसमपर्ण गरेको स्थानीयले जनाएका छन् ।
उनीहरुका २ छोरी र एक जना ४ बर्षीय छोरा रहेका छन् । दुवै छोरीको विवाह भईसकेको छ ।



सम्बन्धित
Loading...