दाउन्ने सडक मर्मत थालियो, दशै अवधिभर ठूला सवारी साधन सञ्चालनमा रोक
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्ने सडक खण्डमा हिलो र चिप्लोले सवारी साधन चल्न नसकेपछि सडक मर्मत शुरु गरिएको छ ।
शनिबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बसेको जिल्ला स्तरको वैठक लगतै सडक मर्मत शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले जानकारी दिए ।
उनका अनुसार शनिबार नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, चाइना स्टेट कम्पनी नारायणगढ बुटवल खण्डका इन्जिनियर राकेश झा, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, नवलपुरका सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितिमा बसेको वैठकले तत्काल सडक मर्मत शुरु गर्ने र दशैं अगाडि यात्रा सहज गराउने बताए ।
दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम खण्डको ३ किलोमिटर सडक कालो पत्रे भएको छ भने ३ किलोमिटर सडक एकतर्फी ढलान भएर सवारी साधन चलिरहेका छन् त्यसका अलवा ८ किलोमिटर कच्ची सडक रहेको छ । ८ किलोमिटर मध्ये २ किलोमिटर एकतर्फी ढलान सकिएको र केही दिनमा खोल्ने तयारी रहेको आयोजनाका प्रमुख इन्जिनियर चुडाबहादुर ढकालले जानकारी दिए ।
दाउन्नेको ८ किलोमिटर सडक खण्डमा अहिले कच्ची बाटो यात्रा गर्नु पर्ने बाध्यता रहेको छ जस मध्ये ३ किलोमिटर सडक खण्डमा नियमित सवारी साधनमा समस्या हुने गरेको छ । दाउन्नेको विश्वकर्मा मन्दिर, ६५ मोड र खुर्सानी खोला आसपासको क्षेत्रमा सडक निक्कै विग्रिएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरीले बताए ।
उनका अनुसार शनिबारको वैठकमा चाइना स्टेट कम्पनीका पक्षधरले ७ दिन भित्र सडक पूर्ण रुपमा मर्मत गरी दुई तर्फी सवारी साधन चल्ने गराइने प्रतिबद्धता जनाएको छ । शनिबारबाटै नै सडकमा गिटी बिछ्याउने र रोलर लगाउने काम थालिएको उनले बताए ।
बुधबारदेखि दाउन्ने सडक खण्डमा सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । काठमाडौंबाट आउने सवारी साधन नारायणगढ मुग्लिन सडक खण्डका कारण उत्तै रोकिएकोले सडकमा सवारी साधनको चाप कम हुँदा शनिबार दाउन्नेमा सवारी साधन आवत जावतमा समस्या नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
शनिबार पनि दाउन्नेको ६५ मोड र विश्वकर्मा बाबा मन्दिर नजिकको सडक गरी दुई ठाउँमा एकतर्फी सवारी साधन सञ्चालनमा रहेको छ ।