नवलपुरका पत्रकार दोस्रो चरणको आन्दोलनमा जाने

असार, ०९, कावासोती । प्रेस सङ्गठन नेपाल नवलपुरले पत्रकार महासङ्घ नवलपुर विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ ।
आज कावासोतिमा बसेको सङ्गठनको भेलाले आन्दोलनमा जाने निर्णय गरेको प्रेस सङ्गठन नेपाल नवलपुर कार्यदल सदस्य सागर पोखरेलले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघलाई आफ्नो विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएर नेपाल पत्रकार महासंघ नवलपुर विरुद्ध नवलपुरका पत्रकारहरु आन्दोलित भएका थिए ।
वैठकमा सहभागी प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जून अविरलले माग पुरा नभएपछि दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको बताउनुभयो ।
एक साताअघी जिल्लाका विभिन्न पेशागत सङ्गठनहरुले विभिन्न माग राखेर बुझाएको ज्ञापनपत्रका विषयमा महासङ्घले कुनै चासो नदिएको र सङ्गठनहरुले दिएको ७ दिने अल्टिमेटमको समयसिमासम्म पनि मागहरुका विषयमा कुनै सुनुवाइ नभएपछी बाध्य भएर आन्दोलनमा जाने निर्णय गरिएको सङ्गठनका अर्का कार्यदल सदस्य अर्जुन अबिरलले बताउनुभयो ।
प्रेस सङ्गठनको भेलाले जिल्लामा क्रियाशिल अन्य सङ्गठनका प्रमुखहरुसङ्ग आजै बैठक बसि थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने निर्णय पनि गरेको छ ।

पत्रकार महासंघको नयाँ सदस्यता शुल्क, सदस्यता शुद्धिकरण, आर्थिक पारदर्शिता लगायतका विषलाई लिएर यस अघि क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको थियो। क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरेर खोलेको थियो ।
क्रान्तिकारी पत्रकार महासंघले लगाएको ताला फोडिएको विषयमा पत्रकारहरुबीच विवाद समेत भएको थियो।
पत्रकारसँग सम्बन्धित विभिन्न पेशागत संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज नवलपुर, वातावरण पत्रकार मञ्च लगायतले पत्रकार महासंघ नवलपुरले नयाँ सदस्यता शुल्क २ हजार रुपैया कायम गर्नुपर्ने, महासंघको नयाँ सदस्यता, शुद्धिकरण, नवीकरण, भवन निर्माण सहयोग जस्ता गम्भीर विषयमा जिल्लामा रहेका सबै पत्रकार संगठनहरुको प्रतिनिधिहरु समावेश गरी कार्यादल बनाउन माग गर्दै एक साता अघि ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाउँदै नवलपुरका पत्रकार संगठनहरु नेपाल पत्रकार महासंघ नवलपुर विरुद्ध आन्दोलित भएपछि नेपाल पत्रकार महासंघ पछि हटेको थियो।
नेपाल पत्रकार महासंघ नवलपुरले आन्दोलन पछि अघिल्लो निर्णय फेर बदल गरेर नयाँ सदस्यताका लागि केन्द्रको नियमानुसार ३ हजार र भवन निर्माणका लागि स्वच्छिक सहयोग गर्न पाउने निर्णय गरेको छ।

त्यसैगरी पत्रकार महासंघ नवलपुर शाखाले गत २०७५ पौष १४ गते आयोजना गरेको साधारण सभामा आर्थिक प्रतिवेदन पास हुन नसकेको कारणसहित हिसाबकिताव चुस्तदुरुस्त ढंगले सार्वजनिक गर्नुपर्ने, नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विभिन्न संघसंस्था एवं सरकारी कार्यालयबाट विभिन्न वाहानामा रकम उठाएको तर त्यसको रेकर्ड कही कतै नराखिएकोले सो को सार्वजनिक गर्नुपर्ने, महासंघको कार्यालय भवन बनाउने स्थान कही कतै तय नभएको तर भवन निर्माण सहयोग भनी रकम उठाउने तर रकम कहाँ राखिएको भन्ने विषयमा खुलस्त पार्नुपर्ने लगायतका माग राख्दै पत्रकारहरु आन्दोलित हुँदै आएका छन् ।
त्यति मात्रै हैन गत जेठ ३१ र ३२ गते पोखरामा भएको नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको साधारण सभामा समेत नवलपुर जिल्लामा कार्यसमितिमा रहेकाहरुलाई पनि पार्सद बनाएर लगिएको प्रती सङ्गठनले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एकलौटी ढङ्गबाट आफ्नो मनोमानिमा महासङ्घको साधारण सदस्यसमेत नभएकालाई पनि पर्यवेक्षक बनाइएको र कार्यसमितिकै ब्याक्तिहरुलाई पार्सद बनाईनु लज्जास्पद भएको टिप्पणी गरेका छन । महासङ्घको यस्ता क्रियाकलापले नवलपुरकै पत्रकारहरुको बदनाम भएको समेत भेलामा गुनासो गरिएको थियो ।
साथै नेपाल पत्रकार महासंघ नवलपुर शाखाले पत्रकार शुद्धिकरणमा समेत ध्यान नदिएको वातावरण पत्रकार मंचका अध्यक्ष शालिकराम कोइरालाले बताउनुभयो ।