एसईईमा नवलपरासीबाट १२ हजार बढी परीक्षार्थी सहभागी हुँदै


रामकुमार श्रेष्ठ
नवलपरासी । यस बर्षको एसईई परीक्षामा नवलपुरबाट एक सय ३३ वटा विद्यालयका ६ हजार ६ सय ७० जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
चैत्र १० गतेबाट शुरु हुने परीक्षाका लागि नवलपुरमा तयारी तिव्र पारिएको मा शिक्षा तथा समन्वय इकाई कार्यालय नवलपुरका ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए ।
पोख्रेलका अनुसार नियमित तर्फ ६ हजार ६ सय २७ जना र एक्जाम्टेडतर्फका ४३ जना गरी ६ हजार ६ सय ७० जना परीक्षार्थी नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) बाट एसईई परीक्षामा सहभागी हुने छन् ।
परीक्षामा नवलपुरबाट ८४ वटा सामुदायिक विद्यालय र निजी तथा संस्थागत ४९ गरी १ सय ३३ जटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुँदै छन् ।
त्यसैगरी ५ वटा टेक्निकल विद्यालय र एउटा खुल्ला विद्यालयका विद्यार्थीहरु पनि नवलपुरबाट यस बर्षको एसईई परीक्षामा सहभागी हुँदै छन् ।
परीक्षाका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण प्रबन्ध मिलाई सकिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
परीक्षाका लागि नवलपुरमा अघिल्लो बर्ष झै साविककै विद्यार्थीहरुलाई परीक्षा केन्द्र निर्धारण गरी २४ वटा विद्यालयहरुमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने कार्य सकिएको छ।
त्यसैगरी केन्द्राध्यक्ष तोक्ने काम पनि सकिएको छ।
त्यसैगरी पश्चिम नवलपरासीमा पनि परीक्षाको तयारी तिब्र पारिएको छ । पश्चिम नवलपरासीमा यस बर्षको एसईई परीक्षामा ५ हजार सात सय १४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएको शिक्षा तथा समन्वय ईकाई कार्यालय पश्चिम नवलपरासीका उपसचिव चेतनशील लम्सालले बताए ।




उनका अनुसार पश्चिम नवलपरासीमा एसईई परीक्षाका लागि १८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परासी क्षेत्रमा केन्द्राध्यक्ष तोक्नेदेखि उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पुर्याउने काम सकिएको छ।
पश्चिम नवलपरासीबाट ५८ वटा सामुदायिक र ५८ वटा संस्थागत तथा निजी गरी १ सय १६ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।
यस बर्षको एसईई परीक्षा चैत्र १० गतेबाट शुरु भई सामान्यतर्फका चैत्र १८ गते सकिने छ भने प्राविधिकतर्फको चैत्र २१ गते सकिने छ।


सम्बन्धित
Loading...