चितवनमा विप्लव समूहका सात जना पक्राउ; गण्डकी प्रदेश इन्चार्ज गुरुङ कास्कीबाट समातिए

62







चितवनमा विप्लव समूहका सात जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट उनिहरुलाई पक्राउ गरिएको हो ।
चन्द समूहको गतिविधिमा सरकारले प्रतिबन्ध घोषणा गरेयता उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये छ जना बिरुद्ध मुद्धा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।
चार जनालाई एक हप्ता अघि नियन्त्रणमा लिइएको हो भने दुई जनालाई हिजो र एक जनालाई आज नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
पक्राउ पर्नेमा राजकुमार तिमिल्सिना, गुणराज श्रेष्ठ, विक्रम न्यौपाने, विरबहादुर तामाङ, जयबहादुर कुंवर र मित्र केसी रहेका छन् । कुंबर र केसीलाई प्रहरीले हिजो पक्राउ गरेको हो । आज पक्राउ गरिएका थप एक जना माथि अनुसन्धान भइरहेको राठौरले बताउनुभयो ।
तिमिल्सिना जिल्ला सचिवालय सदस्य, न्यौपाने अखिल (क्रान्तिकारी) विरेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष, श्रेष्ठ राप्ती नगरपालिका जनसरकार प्रमुख, केसी विप्लव निकट यातायात व्यवसायी संघ चितवन अध्यक्ष र कुंवर चितवन क्षेत्र नम्वर १ इलाका इन्चार्ज हुन् । उनीहरुबिरुद्ध संगठित अपराध, बम बिस्फोट र आगजनी जस्ता गम्भीर प्रकृतिका मुद्धा चलाइएको राठौरले बताउनुभयो ।
विप्लव समूहका नेता कार्यकर्ता पक्राउ गर्न जिल्लाका सबै क्षेत्रमा व्यपाक प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । केन्द्रिय स्तरका नेता कार्यकर्ता पनि चितवनमै रहेको सूचनाका आधारमा प्रहरी परिचालन व्यापक बनाइएको राठौरको भनाई छ ।
यसैबीच, विप्लव समूहका जिल्ला स्तरका नेता,कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि चितवनमा चार जनाले मंगलबार बिज्ञप्ती जारी गरेर राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १० का इन्चार्ज मधु क्षेत्री, नगर सदस्यहरु रामप्यारी श्रेष्ठ, राजकुमार विक र श्रमनाथ पण्डितले राजिनामा दिएका हुन् ।

उता, नेत्र विक्रम चन्द विप्लव माओबादीका तमुवान जनपरिषद गण्डकी प्रदेशका इन्चार्ज किसानसिंह गुरुङ पक्राउ परेका छन् । गुरुङ पोखराको रिठ्ठेपानीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
सरकारले नेत्रविक्रम चन्द विप्लव माओबादीलाई पार्टी प्रतिवन्ध लगाएसंगै प्रहरीले विप्लव समूहका पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने काम तीब्र पारेको छ ।

You might also like
Loading...