न्यायका लागि हतियार उठ्छः महासचिव किरण
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले हतियार न्यायका लागि वैचारिक स्तरबाट उठ्ने र त्यसको आफ्नो पार्टी तयारीमा लागेको बताएका छन् ।
आइतबारबाट काठमाडौंमा शुरु भएको नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय स्कुलिङ विभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा पार्टी महासचिव मोहन बैद्य किरणले प्रशिक्षक प्रशिक्षण कार्यक्रको उद्घाटन गरेका हुन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव किरणले देशैभरीका नेता, कार्यकर्ताहरुको विचारिक स्तरमा तिखार ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।
किरणले विश्वमा कम्युनिज्म समाप्त भएको भन्ने भ्रम परिरहेको र नेपालमा नामधारी कम्युनिस्टहरु बहुमतको जनादेशसहित सरकारमा आएर केही पनि गर्न नसकिरहेको अर्को भ्रम परिरहेको अवस्थामा यो वैचारिक प्रशिक्षण कार्यक्रम हुन लागिरहेको बताएका थिए ।
आजबाट शुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम १७ गतेसम्म चल्ने छ । कार्यक्रममा देशभरबाट ३० जना अगुवा प्रशिक्षकहरुको सहभागिता रहेको छ ।
पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख परी थापाको सभापतित्वमा शुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा प्रशिक्षण विभागका संयोजक हस्त बहादुर केसीले गरेका थिए ।
थापाले ‘साउण्ड हेल्थ साउण्ड माइण्ड’ भने झैं वैचारिक र भौतिक दुवै रुपमा प्रशिक्षणको सोच बनाइए पनि हालका लागि यो वैचारिक रुपमा अलि बढी केन्द्रित गरिएको बताए । प्रतिक्रियावादीहरुले क्रान्तिकारी हरुलाई वैचारिक तथा भौतिक रुपमा चारैतिरबाट आक्रमण गरिरहेकाले त्यसको प्रतिरोधका लागि गरिइरहेका तयारीहरुमध्ये यो सबैभन्दा ठूलो वैचारिक तयारी रहेको बताउँदै उनले क्रान्तिकारीहरु ती प्रतिक्रियावादीहरुभन्दा श्रेष्ठ बन्नुपर्ने आवश्यकता आएकोमा जोड दिएका थिए ।