नवलपुरबाट प्रदेश चारको राजधानी पोखरा जान अन्यप्रदेश भएर जाने बाध्यता हट्छः राष्ट्रिय सभाका अध्यक्ष

0 60







नवलपरासी (गैडाकोट), ७ कात्तिक ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मौलाकालिका गण्डकी प्रदेशकै शान भएको बताउँदै यसको स्तरोन्नतिका लागि सहयोग गर्ने बताएका छन् ।
मौलाकालिका धार्मिक, पर्यटन र स्वास्थ्यका हिसाबले पनि उचित गन्तव्य रहेको उनको भनाइ थियो । उनले नारायणी नदीको तटबन्धन गर्दै पदमार्ग, स्थलमाग, जलमार्ग बनाउन सकिने भन्दै यस क्षेत्रका चार वटै नगरपालिका र एउटा गाँउपालिका लाग्नुपर्ने बताए । त्यसको समन्वय जिल्ला समन्वय समितिले गर्दा अझ ठिक हुने उनको भनाइ थियो ।
संघीय कानुन नबन्दा केही अप्ठ्यारो भएको महसुस गरेको जनाउँदै उनले हिउँदे अधिवेशनमा छिटो भन्दा छिटो बनाएर स्थानीय सरकारलाई चुस्त दुरुस्त गतिका साथ काम गर्ने गरी बतावरण बनाउने बताए ।
अध्यक्ष तिमिल्सिनाले नवलपुरबासीलाई प्रदेश राजधानी जाँदा आउँदा अन्य प्रदेशका बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । गैँडाकोटमा रहेको मौलाकालिका भगवतीको दर्शनपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कालिगण्डकी करिडोरको बाटो हुँदै पोखरा जान सकिने गरी काम भइरहेको र सो कार्यलाई छिटो गर्न पहल गर्ने बताए । अहिले नवलपुरबासी प्रदेश ३ को चितवन र प्रदेश ५ को बुटवल हुँदै पोखरा जानुपर्ने अवस्था छ ।
त्यस्तै कार्यक्रममा नवलपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तिलक महतले लुम्विनी, मुक्तिनाथ र मौलाकालिकालाई सँगै लिएर जानुपर्ने बताए । त्यसका लागि वार्षिक योजना बनाउनुपर्ने उनले बताए । प्रदेश सांसद रोशनबहादुर गाहा मगरले पोखरा, मौलाकालिका हँुदै गजेन्द्र मोक्षधाम जाने बाटो तथा गुरुयोजना निर्माणमा तदारुकताका साथ लाग्ने बताए ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपक नेपालले मौलाकालिका मन्दिरको छुट्टै अस्तित्व रहेको बताउँदै क्रमिकरुपमा विकास जरुरी रहेको बताए । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कँडेलले मौलाकालिका मन्दिरको विकासका लागि नगरपालिकाले सहयोग गरिरहेको बताइन् । साथै उनले मौलाकालिका, मुकुन्दसेन र कैलाश सन्यास आश्रमको संयुक्तरुपमा विकास गर्न आवश्यक रहेको बताउँदै राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि तथा प्रदेश सांसदको ध्यानाकर्षण गराएका थिए । मन्दिरका प्रमुख सल्लाहकार, पूर्वप्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले प्रहरीसँगको सहकार्यमा २६ वर्षदेखि निरन्तर विकासमा क्रियाशील रहेको बताए ।
कार्यक्रममा मन्दिरका संस्थापक अध्यक्ष डिलाराम कँडेल, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका स्वकिय सचिव गोविन्द पौडेल, पूर्वराजदुत मायाकुमारी शर्मा, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा भएको थियो ।

You might also like
Loading...