प्रदेश २ सरकारले प्रधानमन्त्रीको आश्वासनपछि रोक्यो ३ विधेयक

0

जनकपुर — प्रधानमन्त्री कार्यालयको आश्वासनपछि प्रदेश २ सरकारले कर्मचारी नियुक्ति र खटनपटनसँग सम्बन्धित तीन विधेयक अगाडि नबढाउने निर्णय गरेको छ । सरकारले लोकसेवा, निजामती कर्मचारी र प्रशासनसँग सम्बन्धित ३ विधेयक प्रदेशसभा सचिवालयमा तत्काल दर्ता नगराउने भएको छ ।




तीनवटै विधेयकमा सैद्धान्तिक सहमति दिन शुक्रबार साँझ बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एक महिनाका लागि विधेयक अगाडि नबढाउने निर्णय गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारको आग्रहमा तीनवटै विधेयक एक महिना रोक्ने निर्णय भएको बताए। ‘संघीय सरकारले प्रदेशसँग समन्वय र सहकार्य गर्ने सन्देश पठाएको छ,’ मन्त्री यादवले भने ‘हामीले पनि समन्वय र सहकार्य नै चाहेकाले ३ वटै विधेयक केही दिनका लागि रोक्न तयार भयौं।’

प्रधानमन्त्री कार्यालयले मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई एक महिनाभित्र संघीय प्रहरी ऐन, लोकसेवा विधेयक र निजामती प्रशासन विधेयक अध्यादेशमार्फत वा मन्त्रिपरिषद्बाट पास गराउने आश्वासन दिएको छ। अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालयले प्रदेश २ मा आवश्यक सबै कर्मचारी पठाउन पहल सुरु भइसकेकाले त्यससँग सम्बन्धित विधेयक रोक्न भनेको छ।


प्रदेश सरकारको शुक्रबार मन्त्रिपरिषदको बैठक बस्नुअघि प्रधानमन्त्री कार्यालयका एक सचिवले मुख्यमन्त्री राउतसित टेलिफोनमा कुरा गर्दै विधेयक अगाडि नबढाउन आग्रह गरेको अधिकारीको भनाइ छ।



सम्बन्धित
Loading...