विधानबारे कांग्रेसमा विवाद, महासमिति बैठक सर्न सक्ने

0

काठमाडौं, १८ कात्तिक ।




नयाँ संविधानका आरक्षणसम्बन्धी व्यवस्थालाई पार्टीका सबै तहमा कसरी समेट्ने भन्ने टुङ्गोमा पुग्न नसक्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरू गरेको विधान संशोधनमा ढिलाइ भएको त्यस पार्टीका नेताहरूले बताएका छन्।




विभिन्न गुटमा बाँडिएको आरोप लाग्ने गरेको उक्त पार्टीमा सभापति शेरबहादुर देउवाका विरोधी खेमाका भनेर चिनिएकाहरूले भने संस्थापन पक्ष तोकिएको महासमिति बैठक सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्।

विधानबारे नै छलफल गर्न भनी काठमाण्ठूमा यही मंसिर ५ देखि ९ गतेसम्म तय भएको महासमिति बैठक पछि धकेलिने अवस्था बनेकाले उक्त पार्टीभित्र विधान संशोधानको विषय पेचिलो बनेको देखिएको कतिपयको बुझाइ छ।

केन्द्रीय विधान संशोधन मस्यौदा समितिका सदस्यहरूका अनुसार संविधान अनुरूपको आरक्षणको व्यवस्था पार्टीका समितिहरूमा कसरी लागू गर्ने भन्नेमा उनीहरू टुङ्गोमा पुग्न सकिरहेका छैनन्।

त्यो विषय खुला राखेरै भएपनि संशोधन मस्यौदा बुझाउनुपर्ने समितिका कतिपय सदस्यको तर्क पाइन्छ।

सभापति इतर खेमाका नेताहरूले भने हरेक वर्ष हुनुपर्ने महासमिति बैठक सार्न यस्ता बहाना खोजिएको अर्थमा त्यसलाई बुझ्ने गरेका छन्।

नेपाली कांग्रेसका एकजना वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, “पार्टीमा आफूलाई लागेको कुरा भन्ने सदस्यहरूको अधिकारको कुरा हो। तर, त्यसैलाई आधार बनाएर महासमिति बैठक पर सार्ने वा विधान नबनाउने हुन सक्दैन।”

सभापति शेरबहादुर देउवाले आगामी अधिवेशनलाई लक्ष्य गरी आफ्नो पक्षको अवस्था बलियो बनाउने रणनीतिका रूपमा विधान संशोधन र महासमिति बैठकलाई उपयोग गर्न चाहेको कतिपयको बुझाइ छ। (बिबिसीबाट)

 




सम्बन्धित
Loading...