शीर्षकै कारण विलम्ब, अलमलमा कार्यकर्ता

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षस्थ नेताकै कारण तल्ला कमिटी र भ्रातृ संगठनको एकतामा विलम्ब देखिएको छ । माउ पार्टी एकता भएको लामो समय बित्दासमेत तल्ला कमिटी र भ्रातृ संगठनको एकता हुन नसक्दा कार्यकर्तामा भने अलमल देखिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको व्यस्तता र पार्टी एकतामा चासो दिन नसक्दा एकता प्रक्रिया लम्बिन पुगेको हाे अाजकाे राजधानी दैनिकमा खबर छ ।




तल्ला कमिटी र भ्रातृ संगठनले संख्या तथा संरचनासहितको प्रतिवेदन तीन महिनाअघि नै पार्टीमा बुझाइसके पनि दुई अध्यक्षले नेतृत्वको विषयमा तल्ला कमिटीमा निर्देशन दिएका छैनन् । अध्यक्षद्वयको कुनै पनि निर्देशन नपाएपछि कार्यकर्ता पर्ख र हेरको अवस्थामा पुगेका हुन् । तत्कालीन नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) र तत्कालीन नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) बीच नाम र संगठन संख्याबारे भदौमा सहमति भएको थियो । संगठनको नाम अनेरास्ववियू ‘अखिल’ रहने र केन्द्रीय कमिटी ४९९ रहने सहमतिसमेत भएको थियो ।

केन्द्रीय कमिटीमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने सहमति भए पनि नेतृत्वको विषयमा सहमति जुट्न सकेको छैन ।
एकतापछिको संगठनको नेतृत्वमा तत्कालीन माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङ र तत्कालीन एमाले निकट अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार रहेका छन् ।
तत्कालीन दुई पार्टी निकट युवा संगठन युथफोर्स नेपाल र योङ कम्युनिस्ट लिग नेपाल (वाईसीयल) पनि सहमतिनजिक छन् । वाईसीयल अध्यक्ष विष्णुप्रसाद सापकोटाले नेतृत्वको विषय केन्द्रले टुंग्याउने तथा विधान र झन्डामा केही विषयलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताए । उनले पार्टीलाई एकताको प्रगति विवरण बुझाइसकेको समेत जानकारी दिए ।







सम्बन्धित
Loading...