ओलम्पिक छनोट : नेपाल म्यानमारसँग बराबरी

0 72







काठमाडौं । टोकियो ओलम्पिक–२०२० को एसिया क्षेत्रको महिला फुटबलको छनोट चरणअन्तर्गतको सोमबार भएको खेलमा नेपाली महिला फुटबल टिमले म्यानमारसँग १–१ को बराबरी खेलेको छ ।

यो खेल बराबरी भएसँग नेपालले छनोटको सम्भावना कायम राखेको छ । नेपाल समूहको अंक तालिकामा तेस्रो स्थानमा छ । म्यानमार नेपालभन्दा ६४ स्थान माथि रहेको छ ।

नेपालले यसअघि समूह ‘सी’को खेलमा भारतसँग १–१ को बराबरी खेलेको थियो । सोमबार नेपालले खेलको सुरुवाती मिनेटमा अग्रता लिएको थियो ।

दोस्रो मिनेटमै सावित्रा भण्डारीले पेनाल्टीमार्फत नेपाललाई १–० ले अगाडि लगाएकी थिइन् । खिन मो वाईले १३औं मिनेटमा म्यानमारका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएकी थिइन् । वाईले प्रहार गरेको कर्नर नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले क्लियर गर्न सकिनन् ।

दोस्रो हाफको ५९ औं मिनेटमा नेपालले अग्रता लिने अवसरलाई सदुपयोग गर्न सकेन । सावित्रा भण्डारी र सरु लिम्बूले राम्रो वन टु पास खेल्दै डिफेन्स लाइन क्रस गरे सावित्राले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा गोल गर्न सकिनन् ।

दुवै टिमले त्यसपछि केहि मुभ सिर्जना गरे पनि गोल गर्न सकेनन् । जसका कारण खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
समूह ‘सी’को अर्काे खेलमा भारतले बंगलादेशलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

बंगलादेशविरुद्धको खेलमा भारतका लागि बालादेवीले ह्याट्रिक गरिन् । उनले व्यक्तिगत ४ गोल गरेकी थिइन् ।

कमलादेवीले २ र सन्जुले १ गोल गरे । बंगलादेशका लागि कृष्णा रानीले एक गोल गरेकी थिइन् । बंगलादेश भने म्यानमारसँग पहिलो खेलमा ५–० ले पराजित भएको थियो ।

म्यानमारसँग बराबरी खेलेसँग नेपालले अंक तालिकामा २ अंक जोडेको छ । भारत र म्यानमारको समान ४ अंक छ । बंगलादेश अंक तालिकाको अन्तिममा छ । उले अंक जोड्न सकेको छैन । नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्ने छ ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा एसियाबाट १८ देशले प्रतिस्पर्धा गरेका छन् । यो क्षेत्रबाट भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेको अवस्था छ ।

अन्य टिमलाई भने चार समूहमा विभाजन गरि छनोट खेल खेलाइएको हो । समूहको शिर्ष टिम दोस्रो चरणका लागि छनोट हुने छ । दुई उत्कृष्ट दोस्रो टिमले पनि छनोटको मौका पाउने छन् । दोस्रो चरणमा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

You might also like
Loading...