मन्त्रीबाट बर्खास्त सोडारी नेकपाको साधारण सदस्यबाट समेत निष्कासित
धनगढी, २७ कात्तिक । मन्त्रीबाट बर्खास्त दीर्घ सोडारीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्कासित गरिएको छ । पदीय मर्यादा विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट बर्खास्ती गरिएका सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो ।
मंगलबार बिहान मन्त्रीबाट बर्खास्त भएका उनलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको नेकपाकाे सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । नेकपाकाे सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाकाे अध्यक्षतामा बसेकाे बैंककले साेडारीकाे कार्यशैली लगायतमा गम्भीर ध्यानाकर्षण भएकाे भन्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेकाे हाे ।
यसअघि तत्कालीन नेकपा (एमाले) कैलालीको अध्यक्ष रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को ‘१’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । साेडारीलाई सामाजिक विकास मन्त्रीबाट हटाएर तत्कालीन एमालेबाट कैलाली क्षेत्र नम्वर ४ काे ‘२’ बाट निर्वाचित कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा प्रदेश सरकारले नियुक्त गरिसकेको छ ।
नेकपाको पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिए सोडारीको सांसद पद भने यथावत रहनेछ । उनलाई यसरी कार्वाही गर्नुकाे प्रमुख कारण नखुलाईए पनि नेकपाका नेताहरूले पदीय मर्यादाबिपरित काम गरेकाे भन्ने गरेका छन् ।