देजमो बाँकेले उठायो जनसरोकार सम्बन्धी मागहरुः स्थानीय निकायमा ज्ञापनपत्र पेश

0 38







दिनेशकुमार श्रीवास्तव


बाँके । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल बाँकेले राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालमा देखिएका तमाम समस्याका बारेमा जिल्लाका सबै स्थानीय निकायहरुलाई सचेत बनाउँने अभियान शुरु गरेको छ ।
वर्तमान ओली नेतृत्वको सरकार गठनसँगै मुलुकको राष्ट्रियता संकटमा परेको र जनताको जनजीवन दिनानुदिन कष्टकर बन्दै गएको भन्दै देजमो बाँकेले स्थानीय तहलाई जनताका समस्यामा केन्द्रीत हुन सचेत बनाउँने उद्देश्यले त्यस्तो अभियान चलाएको हो ।
दैनिक गुजारा चलाउँन काम गर्न चाहने मजदूरले समेत काम नपाएर विदेशिनु पर्ने अवस्था मुलुकमा सिर्जना हुँदा समेत ओली सरकारलाई कुर्सि बाहेक जनताको समस्याबारे कुनै चिन्ता नभएको आरोप लगाउँदै उक्त अभियानका बारेमा क्रान्तिकारी माओवादी बाँकेका सचिव तेजविक्रम शाही अर्जुनले हरपललाई जानकारी दिए ।
देजमो बाँकेले जनताका समस्या, स्थानीय विकास निर्माणमा देखिएको भ्रष्टचार, ढिलासुस्ति, अनियमितता, महंगी, स्थानीय श्रोत साधनको दलालीकरण, बढ्दो अपराधको श्रृखला, सामाजिक विकृति, विसंगति तथा सामाजिक न्यायको अवस्था लगायत विभिन्न ४० बुँदें मागहरु सहित जिल्लाका विभिन्न स्थानीय नियकाहरुमा ज्ञापनपत्र बुझाउँदै छलफल चलाउँदै आएको जनाएको छ ।
देजमो बाँकेले मंगलबार (हिजो) जिल्लाको राप्तिसोनारी गाउँपालिकामा ज्ञापन पज्ञ बुझाएको छ । गाउँपालिका अपाध्यक्ष धनी कुमारी खत्रीसँग मागका विषयमा छलफल गर्दै देजमोले ज्ञापन पत्र बुझाएको बतायो ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष खत्रीले जनताको काममा आफुहरुले सहजता दिलाउने प्रयत्य गरीरहेको भन्दै मागहरुको विषयमा क्रमश कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाइन् । खत्रीले कतिपय कामहरु भैरहेको र कतिपय माग पत्रमा आएका विषय सुझावका रुपमा लिएर अघि बढ्ने बताएको मोर्चाले जनाएको छ ।
प्राप्त जानकारी अनुसार, ज्ञापन पत्र बुझाउँदै मोर्चाले जनताका समस्याहरुको हल गर्ने विषयमा गम्भिर भएर सोच्न आग्रह गरेको छ । मोर्चाले तत्काल मागहरुको सम्बोधन नगरेमा जनताको साथमा कडा संघर्षमा उत्रने भन्दै चेतावनी समेत दिएको छ ।
देजमो बाँकेको अगुवाईमा भएको उक्त कार्यक्रममा देजमोका शुरेस वली, सोनुराम चौधरी, खिमलाल कडेंल, लालबहादुर थारु, हिराबहादुर थापा, क्रान्तिकारी किसान संगठनका केन्द्रीय सदस्य प्रेम थापा, क्रान्तिकारी माओवादी बाँकेको ४ नम्बर एरिया इन्चार्ज महिपतलाल मौर्य, जिल्ला सल्लाहकार समिति संयोजक अनन्त भण्डारीको उपस्थिति तथा पार्टी सचिव अर्जुन र केन्द्रीय सल्लाहकार समिति सदस्य ऋषिराम थारुको विशेष उपस्थिति रहेको थियो ।

त्यसैगरी देजमो बाँकेले आज (बुधबार) जिल्लाको बैनजाथपुर गाउँपालिका र कोहलपुर नगरपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको जनाएको छ । क्रान्तिकारी माओवादी पार्टी निकटको उक्त मोर्चाको केन्द्रीय निति अनुसार बाँके लगायत देशका विभिन्न जिल्लाहरुमा जनताका मागहरु सहित स्थानीय निकायको ध्यानाकर्ष गराउने कार्यक्रम भैरहेको बताइएको छ ।

You might also like
Loading...