नेता कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गर्ने विप्लवको चेतावानी
काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव विप्लवले नेता कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गर्ने चेतावानी दिएका छन् । पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट प्रहरीले हस्तक्षेप गरी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा जारी गरेको वक्तव्यमा विप्लवले यस्तो चेतावानी दिएका हुन् ।
विप्लवले गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गरेका छन् र भनेका छन्, “श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’
वक्तव्यमा विप्लवले ओली सरकार जनवादी शक्तिविरुद्ध दिन–प्रतिदिन घोर निरङ्कुश, सर्वसत्तावादी एवम् फासिवादी बन्दै गएको उल्लेख गर्दै देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम् जनवादी शक्तिहरूमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको सरकारको निरङ्कुश एवम् फासिवादी दमनका विरुद्ध जागरुक हुन र सङ्घर्ष गर्न सबै मानवअधिकारवादी, कानुनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूलाई विशेष अपिल समेत गरेका छन् ।
असोजको २९ गते राती दाङको राजपुर गापा–४ बाट ब्यूरोको बैठक बसिरहेको अवस्थामा नेकपा (विप्लव)का केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’लगायत २१ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । यति ठूलो संख्यामा एकसाथ नेकपा (विप्लव)का नेता कार्यकर्ता पक्राउ परेको यो पहिलो पटक हो ।
सम्बन्धित समाचार
नवलपुरमा विप्लपकाे दुई कार्यकर्ता पक्राउ
दाङमा विप्लवका २१ नेता कार्यकर्ता पक्राउ
