आलमसहित १० जनालाई जन्मकैद माग्‍दै प्रहरीले बुझायो प्रतिवेदन




काठमाडौं : रौतहटको राजपुरमा बम विष्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्म कैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ।

११ जना प्रतिवादीमध्ये १० जनालाई जन्म कैद र १ जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिबेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्याधिवक्ता खडिन्द्र राज कटुवालले जानकारी दिएका छन्। प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्याधिवक्ता कटुवालले जानकारी दिए।




उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(१) नं. कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७(१) कसुर अपराधअनुसार कारबाहीको माग भएको कटुवालले बताए।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दासहित थप दुई  कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो । सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यान लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारेको छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको मुद्दा चलाउन राय सल्लाहसहितको प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता नवीन कार्कीले बताए। सबै कसुरउपर अनुसन्धान सकेर सजाय माग दाबीसहित सरकारी वकिलको कार्यालयमा मिसिल बुझाइएको उनले जानकारी दिए।

गत २०६४ साल चैत्र २७ गते संविधानसभाको चुनावको  अघिल्लो दिन जिल्लाको राजपुर फरदहवामा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलम घटनामा दोषी रहेको निष्कर्ष रौतहट प्रहरीको  छ।

पूर्वप्रहरी अधिकारी आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला मृतकका परिवार, प्रत्यक्षदर्शी, गाउँले, त्यसबेलाका स्थानीय र केन्द्रीय प्रहरी अधिकारीहरु, तथा घटनामा परेर बाँच्न सफल भएका व्‍यक्ति समेतको बयानका आधारमा राजपुरमा त्यसबेला विस्फोट भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

रायसहितको प्रतिवेदन शुक्रबार नै सरकारी वकिलको कार्यालयमा बुझाइए पनि आलममाथि शनिबार र आइतबार छठका लागि प्रदेश सरकारले बिदा दिएकाले सोमबार मात्र मुद्दा दायर हुने सम्भावना छ। प्रहरीले उच्च पदस्थदेखि घटनास्थल क्षेत्रका विभिन्न ३५ जनाभन्दा बढीसँग बयान लिएको डिएसपी कार्कीले जानकारी दिए।

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ गते राजपुरमा बम विस्फोटको घटना भएको बयान दिएका छन्।

विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला उनीहरुले नै रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा त्यतिबेला बम विस्फोट भएको बताएका हुन्।

तत्कालीन आईजीपी राणा र एआइजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यतिबेला रौटहट प्रहरीबाट पाएको स्वीकार गरेका हुन्। बम विस्फोट भएको र इँटाभट्टमा हालेर घाइतेको हत्या गरेको प्रकरणमा आलमलाई गत असोज २६ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यस घटनाबारे प्रहरी गम्भीर भएर अनुसन्धान गरेको रौतहट प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिएका छन। घटनामा संलग्नहरुको बयानको आधारमा र प्राप्त प्रमाणको आधारमा प्रहरीले अनुसन्धान गरेको प्रहरी प्रमुख खत्रीले बताए। जिल्ला प्रहरी कार्यालय रौतहटले तयार पारेको रायसहितको प्रतिवेदन शुक्रबार नै सरकारी वकिलको कार्यालयमा बुझाइए पनि आलममाथि शनिबार र आइतबार छठका लागि प्रदेश सरकारले बिदा दिएकाले सोमबार मात्र मुद्दा दायर हुने सम्भावना छ। साभारः थाहा खबरबाट
http://thahakhabar.com/news/82841

 

रौतहट बम काण्डः तत्कालीन प्रहरी नेतृत्व र सरकारी वकिलको बयान



सम्बन्धित
Loading...