सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ




प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले यादवलाई पक्राउ गरेर अनुसन्धान थालिएको  बताए । उनले भने, ‘पक्राउ गरेर प्रारम्भिक अनुसन्धान थालिसकेका छौं ।’ घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।




यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् । उनी स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदका लागि उम्मेवार बनेका थिए । तर, ९ हजार ९ सय ९९ मत ल्याएर तेस्रो स्थानमा रहे भने तत्कालीन माओवादी केन्द्रका देवानन्द महतो ७ हजार ३ सय ८ मत ल्याएर मेयरमा निर्वाचित भए ।

यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुर लगायतलाई चर्को ब्याजदरमा ऋण दिएका थिए ।

उनीहरुमध्ये सुरेशले ६० हजार रुपैयाँ ऋण लिएर ७ लाख ४२ हजार रुपैयाँ तिरिसकेका छन् । तर, अझै ऋण चुक्ता नभएको भन्दै जग्गा समेत कब्जा गरिएको पीडितको गुनासो छ ।

यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा १५ भदौमा श्याम परदेशी पनि पक्राउ परिसकेका छन् ।

यो घटनाका पीडित पनि जिल्ला नेताको सहयोगमा काठमाडौं आएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतलाई भेटेपछि प्रहरीले पक्राउ गरेको थियो । @onlinekhabar.com

मिटर ब्याजीको अर्को धन्दा : राजपाका केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगेको आरोप



सम्बन्धित
Loading...