घुम्नै पर्ने स्थान मौलाकालिका मन्दिर

नेपाल भ्रमण बर्ष २०२० चलिरहँदा नवलपुर जिल्लाको घुम्न लायक स्थान मध्येको एक हो मौलाकालिका मन्दिर । पूर्वी नवलपरासीको पूर्वी बजार गैडाकोटको फेदिदेखि करिब १७ सय खुड्किला चढेर करिब डेढ घण्टाको पैदल यात्रा पछि मौलाकालिका मन्दिर पुगिन्छ। साहासिक र रोमाञ्चक यात्राको अनुभव गर्न सकिने मौलाकालिका मन्दिर पुग्न करिब दुई किलो मिटरको पैदल यात्रा गर्नुपर्दछ ।
समुन्द्रको सतहदेखि ५ सय ६१ मिटरको उचाई पहाडि क्षेत्रमा र जताततै हरियो वनले घेरेको यस क्षेत्रमा पुगेपछि यहाँ आउने पर्यटक तथा भक्तजनहरु यहाँबाटदेखि गैडाकोट र नारायणगढको फाँट हेर्दा जो कोही पनि मोहित हुन पुग्दछ । यहाँबाट नवलपुर, चितवन र तनहूँको संगम स्थल देवघाट पनि सजिलै देख्न सकिन्छ । मौलाकालिका भगवतीको मन्दिरमा अहिलेसम्म नेपालका प्रमुख व्यक्तित्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व राजा ज्ञानेन्द्र समेतले मन्दिरको दर्शन गरी पूजाआर्चना गरेका छन् ।
यो मन्दिर एउटा धार्मिक र पर्यटकीय स्थल मात्र नभई ऐतिहासिक क्षेत्र पनि हो । १६ औं शताब्दीमा पाल्पाका सेनवंशीय राजाले देवी कलिकाको नाउँमा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पस्छत पर्वत (मौला पहाड) को नाउँमा यो मन्दिरको नामाकरण मौलाकालिका भनेर राखिएको भन्ने भनाई पनि रहेको छ । यो मन्दिर पाल्पाका राजा मुकुन्द सेनले बनाएका हुन् । १९९० सालको भुकम्पले पुरानो मन्दिर ध्वस्त भएपछि प्यागोडा शैलीमा फेरि बनाइएको हो । पाल्पा राज्यका बेलाको शैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको जनविश्वास रहेको छ। यहाँ स्वच्छ मनले राखिएका मनोकामनाहरु पुरा हुने धार्मिक विश्वास पनि रहेको छ ।
https://www.youtube.com/watch?v=U_kBEt_YwwQ
मन्दिर व्यवस्थापन समितिले मौलाकालिका मन्दिरमा बलिदान रोकेको छ । यहाँ खास गरेर धार्मिक भक्तजनहरुका साथै युवायुवतीहरुको आकर्षकको केन्द्र विन्दु पनि बन्दै गएको छ । साथै यहाँ वनभोज खान आउँनेको पनि उत्तिकै भिड लाग्ने गर्दछ । विशेषतः शनिबार र बिदाका दिन मन्दिरमा तीर्थालुको घुइँचो लाग्ने गरेको छ । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नारायणगढबाट केही पूर्व गैडाकोटबाट यस मन्दिरमा जान सकिन्छ। यहाँ जानका लागि मौलाकालिका मन्दिरको डाँडाको फेदीसम्म अटोहरु पाइन्छ । गैडाकोट नगरपालिकाको सहयोगमा मन्दिर व्यवस्थापन समितिले यहाँ केबल कार राख्ने तयारी गरेपछि यसको महत्व झनै बढेको छ ।
मौलाकालिकाबाट देखिने पवित्र देवघाट धाम, कलकल बगेकी नारायणी, सुन्दर नारायणगढ बजार र अर्कोतर्फ गैंडाकोटका सुन्दर फाँटले सबैको मन लोभ्याउने गर्दछ ।
पर्यटकलाई लक्षित गरी सय मन्दिर २०५३ सालमा व्यवस्थित गरिएको भए पनि वि.सं. १५ सय ७५ देखिको इतिहाँस रहेको छ । यहाँ दैनिक हजारौं भक्तजनहरु तथा पर्यटकहरु आउने गर्दछन् । यात्राको क्रममा ठाउँठाउँमा राखिएको विश्राम स्थल र ठाउँठाउँमा बनेका होटलहरुले विश्राम गर्दै उकालो उक्लन जोकोहीलाई पनि सहज बनाइदिएको छ ।
नवलपरासी, चितवन, मकवानपुर, धादिङ, तनहुँ लगायतका जिल्लाबाट बढी भक्तजनहरु आउने गर्दछन् भने भारतका बिभिन्न स्थानबाट दर्शनका लागी भक्तजनहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ । मोबाइलको नेटवर्क सजिलै टिप्ने यस ठाउँमा, पिउने पानीको पनि सहज सुविधा छ। यहाँ आउने भक्तजन तथा पर्यटकलाई लक्षित गरी बाटोका ठाउँठाउँमा पिउने पानीको धारा राखिएको छ । करिब २० बर्ष यता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर पर्यटक भित्र्याउन थालिएको हो ।