कोरोनाका कारण छक्कापन्जा–४ र अल्लारे–२ स्थगित
काठमाडौं । विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । जसका कारण अहिले धेरै मुलुक लकडाउनको अवस्थामा छन् । यसको असर अन्य क्षेत्रजस्तै चलचित्र क्षेत्रमा पनि परेको छ ।
कोरोना संक्रमणकै कारण हलिउडदेखि बलिउडसम्मका ठूला फिल्मको निर्माण चार महिनादेखि एक वर्षसम्मलाई पछि सारिएको छ । केही फिल्म प्रोजेक्ट स्थागित भएका छन् । यसैक्रममा नेपालमा पनि दुई ठूलो सिनेमा निर्माण स्थगित भएका छन् । अब ती दुई फिल्म आठदेखि १० महिनापछि मात्र निर्माण हुने सम्भावना रहेको छ ।
यो वर्षको दसैंमा रिलिज हुने भनिएको दीपकराज गिरीको नयाँ चलचित्र ‘छक्कापन्जा–४’ को अब तत्काल छायांकन नहुने भएको छ । यो फिल्मको छायांकन कम्तीमा पनि ६ महिना पछि धकेलिएको छ ।
निर्माता एवं अभिनेता दीपकराज गिरीले अहिलेको अवस्थामा चलचित्र निर्माण गर्नु उपयुक्त नभएकाले हाललाई ‘छक्कापन्जा–४’ प्रोजेक्ट लकडाउन गरिएको बताएका छन् ।
उनको भनाइमा नेपाली चलचित्रको बजार नेपाल मात्र नभएर विदेश पनि हो । नेपाली चलचित्रको राम्रो बजार बनिरहेको युरोप, अमेरिका अस्टे«लियाजस्ता मुलुकमा अझै एक वर्ष नेपाली चलचित्र प्रदर्शन गर्ने अवस्था देखिँदैन । त्यसैले, यस्तो अवस्थामा चलचित्र निर्माण गर्दा चलाउनै गाह्रो हुने दीपकराजको कथन छ ।
चलचित्र ‘छक्कापन्जा–४’ विगतको भन्दा ठूलो क्यानभासमा निर्माण गर्नुपर्ने हुन्छ । यो चलचित्रको स्क्रिप्टलेखन कार्य अन्तिम चरणमा पुगेको थियो । ‘छक्कापन्जा–४’ लाई आगामी दसैंको अवसर पारेर कात्तिक ७ गते रिलिज गर्ने तयारी हुँदै थियो । सो मितिमा रिलिज गर्न चलचित्रको छायांकन जेठको दोस्रो साताबाट सुरु गर्नुपर्ने थियो । तर, अहिलेको अवस्थाले अझै चलचित्रको बजार कम्तीमा एक वर्ष अन्योल रहने भएपछि दीपकराज गिरी, दीपाश्री निरौला र उनको टिमले निर्माणबाट हात झिकेको हो । करिब ३ करोड बजेटको यो फिल्म अहिलेको अवस्थामा जोखिम पूर्ण देखिएको पनि दीपकको कथन छ ।
आफूहरूले ‘छक्कापन्जा–४’ नगरे पनि गत वर्ष ‘छ माया छपक्कै’जस्तै यो दीपक र दीपाले अर्काको फिल्ममा भने काम गर्ने भएका छन् । त्यसका लागि कथा सुन्ने काम पनि भइरहेको दीपकले बताएका छन् । उनलाई एउटा टिमको कथा मन परेकाले उनीहरूसँग जोडिएर सिनेमा गर्न सक्ने दीपकको भनाइ छ । तर, त्यो प्रोजेक्टबारे उनले बताएका छैनन् ।
आगामी ३० असोजमा रिलिज हुने भनिएको निर्माता निर्देशक अशोक शर्माको चलचित्र ‘अल्लारे–२’ को पनि निर्माण स्थगित गरिएको छ । राजधानीसँग हालै कुरा गर्दै निर्माता निर्देशक शर्माले कोरोनाको संक्रमण विश्वव्यापी फैलिएको र यसको प्रभाव अझै एक वर्ष रहने भएकाले हाललाई फिल्म निर्माण स्थगित गरिएको बताएका छन् । निर्देशक शर्माका अनुसार अझै केही समय दर्शक हलमा आउँदैनन् । सिनेमाको बजार राम्रो हुन एकदेखि डेढ वर्षसम्म लाग्नेछ । त्यसैले, जोखिम देखेर अहिलेको अवस्थामा आफूले चलचित्र निर्माण स्थगित गरेको पनि उनले बताएका छन् । अब चलचित्रको बजार राम्रो हुन थालेपछि मात्र आफू छायांकनमा जाने पनि उनले बताएका छन् ।
केही दुई वर्षयता दीपकराज गिरी र अशोक शर्माबीच दसैंमा फिल्म रिलिजको प्रतिस्पर्धा हुन्थ्यो । अब यो वर्ष भने प्रतिस्पर्धाबाट यी दुवै पछि रहेका छन् । यसरी आगामी दसैंमा आउने भनिएका दुई चलचित्र ‘छक्कापन्जा–४’ र ‘अल्लारे–२’ को निर्माण नै हाललाई स्थागित गरिएपछि अरू फिल्मलाई फाइदा पुगेको छ । त्यसैले, अब दसैंमा रिलिजको लागि ‘परदेशी–२’ र ‘ए मेरो हजुर–४’ का लागि बाटो खुलेको छ ।
