सुखद खबरः भारतबाट आएका कावासोतीका २ जना र देवचुलीका १ जना सहित २० जनाको कोरोना परीक्षण नेगेटिभ
नवलपुर, ३ जेठ । भारतबाट नवलपुर आएका २१ जना मध्ये कावासोतीका २ जना र देवचुलीका १ जना सहित शुक्रबार स्वाब संकलन गरिएका २० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले चितवनको भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गए राती भएको परीक्षणमा नवलपुरबाट संकलन गरी पठाईएका २० जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको बताए ।
शुक्रबार भारतबाट आएका ३ जना सहित नेपालकै रुपन्देही, काठमाडौं, विरगञ्ज लगायतका विभिन्न क्षेत्रबाट आएका २० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो ।
भारतबाट आएका २१ जना मध्ये बौदीकालीका १५ जनाको शनिबार स्वाब संकलन गरिने र पिसिआर परीक्षणका लागि पोखरा पठाइने चापागाईले बताए । तनहुँका ३ जना भने सम्बन्धित गाउँपालिका नै पुगेका छन् ।
बौदीकालीमा स्वाव संकलन भए पश्चात् ती नमुना परीक्षणका लागी बौदीकालीकै एम्बुलेन्समा पोखरा पठाउने समेत बताईएको छ ।
भारतबाट आएका २१ जना मध्ये नवलपुरका १८ जना सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई अझै १५ दिन क्वारेन्टाइनमा राखेर कोरोनाको कुनै लक्षण नदेखिए बल्ल घर पठाइने चापागाईले बताए ।
अहिलेसम्म नवलपुरका एक जनामा मात्र कोरोना संक्रमण भेटिएको छ । तथापि संक्रमित व्यक्ति जिल्ला आइपुगेको छैनन् । उनको भरतपुरमा उपचार भईरहेको छ ।
