सूचना प्रविधि तथा सञ्चार क्षेत्र थप खुम्चिँदै, वृद्धिदर केवल १.४५ प्रतिशत हुने अनुमान





नेपालको सूचना प्रविधि तथा संचार क्षेत्र चालु आर्थिक वर्ष २०७७।७८ मा करिब ३७ प्रतिशतले खुम्चिने देखिएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको देशको राष्ट्रिय लेखा अनुमान तयार प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७।७८ मा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर केबल १.४५ प्रतिशत हुने प्रारम्भिक अनुमानले देखाएको छ।

विभागकाअनुसार यसअघि आर्थिक वर्ष २०७५।७६ मा ७.०५ प्रतिशतको वृद्धिदर हासिल भएकोमा गत आव २०७६।७७ मा त्यसमा आधा भन्दा धेरैले कमी आएर २.३० प्रतिशतमा वृद्धिदर खुम्चिएको थियो ।


हाल सार्वजनिक प्रतिवेदनले चालु आवमा यसमा पनि थप घट्ने देखाएको हो । सूचना तथा सञ्चार क्षेत्रले आव २०७७।७८ मा १ खर्ब ९६ अर्ब ७४ करोड ९० रुपैयाँ बराबरको कुल योगदान गर्ने अनुमान गरिएको छ ।

यसअघि सूचना तथा सञ्चार क्षेत्रले आव २०७६।७७ मा १ खर्ब ८६ अर्ब ८२ करोडको कुल योगदान गरेको देखिएको छ भने त्यसअघिको वर्षमा १ खर्ब ८३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबर रहेको थियो ।

सूचना तथा सञ्चार उद्योगले गर्ने योगदानमा वृद्धि देखिएपनि समग्र वार्षिक आर्थिक वृद्धिदर भने खुम्चिने भएको हो ।

त्यसैगरि खपतको आधारमा हेर्दा सूचना तथा सञ्चार उद्योगले आव २०७६।७७ मा १ खर्ब ९ अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबरको खपत गरेको तथ्यांक देखिएको छ भने आव २०७७।७८ मा यो रकम बढेर १ खर्ब १५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको खपत गर्ने प्रक्षेपण गरेको हो ।

विभागका अनुसार नेपालको गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ। केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय लेखा सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै गत आवमा मुलुकको अर्थतन्त्र २ दशमलव ०९ प्रतिशतले ऋणात्मक देखिएको उल्लेख गरेको छ ।

तर आव आव २०७७।७८ मा देशको आर्थिक वृद्धिदरमा सुधार हुँदै कुल ग्राहस्थ उत्पादन (जीडीपी) ४ दशमलब शुन्य १ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ ।




सम्बन्धित
Loading...