नरभक्षी बाघ खोज्न ढिलाइ, स्थानीयमा व्यापक त्रास




पूर्वी नवलपरासी — दुई महिनायता दुम्कीबास क्षेत्रमा देखिएको बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्जले गरेको ढिलाइले स्थानीय चिन्तित बनेका छन् । बाघले दुम्कीबास आसपासको क्षेत्रमा डेढ महिनायता २ जनालाई खाइसकेको छ भने तीन दिनअघि मध्यबिन्दुमा एक जनालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।

बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्रको जंगलमा आक्रमण गरेको हो । बाघको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जंगल जान छोडेका छन् ।




चौपाया चराउन जंगल जानेहरूले ठाउँ ठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीय त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको तीन साता बितिसक्दा पनि निकुञ्जले बाघ नियन्त्रणमा लिने प्राविधिक टोली पठाउन सकेको छैन ।

नरभक्षी बाघ नियन्त्रणमा लिने टोली बर्दियामा पहिला पठाउने कि पूर्वी-नवलपरासीमा भन्ने निधो गर्नै बाँकी रहेको चितवन निकुञ्जका सहायक वार्डेन राजु घिमिरेले जानकारी दिए ।

‘दुवै जिल्लामा बाघले मान्छे खाएको र पटक पटक आक्रमण गरेको जानकारी छ । अब चाँडै टोली परिचालन गर्छौं‚’ उनले भने । बाघ नियन्त्रणमा लिने प्राविधिक जनशक्ति थोरै भएका कारण पालैपालो पठाउनुपर्ने अवस्था रहेको उनले सुनाए । दुवै जिल्लामा बाघको बासस्थान र विचरण गर्ने क्षेत्र पत्ता लगाउन (बाघ रहेको क्षेत्र) जंगलमा क्यामेरा जडान भइसकेको उनले सुनाए ।

‘दुईवटा क्यामेरा राखिएको छ । डाँडाजोर क्षेत्रमा गाईवस्तु खाएको छ । त्यो क्षेत्रमा पनि क्यामेरा राखिएको छ‚’ वार्डेन घिमिरेले भने । एउटै बाघ हो कि फरक फरक बाघ हो भन्ने पत्ता लगाउन कठिन भएको डिभिजन वन कार्यालय पूर्वी-नवलपरासीका प्रमुख मोहनराज काफ्लेले बताए ।

बाघले मान्छे खाएको विनयी त्रिवेणी गाउँपालिकाको जानकारी पत्रअनुसार बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जलाई पत्र पठाएर आग्रह गरिसके पनि प्राविधिक समस्याले ढिलाइ भइरहेको उनले जानकारी दिए ।

स्थानीय त्रसित छन् । बाघ नियन्त्रणमा लिन प्राविधिकसहितको जनशक्ति आवश्यक पर्ने भएकाले निकुञ्जसँग समन्वय भइरहेको जानकारी दिए ।

बाघ कुन क्षेत्रमा छ र मान्छे आक्रमण गर्ने बाघ एउटै हो वा फरक फरक हो भन्ने यकीन नभएसम्म नियन्त्रण गर्न गाह्रो हुने उनले दाबी गरे । ‘काम अघि बढेको छ‚ चाँडै बाघ नियन्त्रण हुन्छ‚’ उनले भने ।

नवलपुरमा फेरि बाघ आक्रमण, ६० बर्षीय कुमाल गम्भीर घाइते

 

नवलपुरमा फेरि बाघ आक्रमण, ६० बर्षीय कुमाल गम्भीर घाइते



सम्बन्धित
Loading...