उखु किसानलाई मल दिने कहिले ?
अहिले कै समयमा यदि सम्झाैता भयाे भने किसानलाई चाहिने मल कम्तिमा दुई महिनासम्म कुर्नैपर्ने छ ।
राम अवतार चाैधरी
कपिलवस्तु, 
तराईका अधिकांश जिल्लाहरु खेतीयोग्य हुन्छन् । जहाँ आम नागरिक कृषि पेशमा आत्मनिर्भर छन् । कतै खाद्यान्न बाली त कतै नगदे बाली खेती गर्ने गरिन्छ । खेतीपातीकाे सिजनमा मल अभाव देखि लिएर सिँचाइकाे समेत उचित व्यवस्थापन नहुँदा बर्सेनि किसान समस्या झेल्दै आएका छन् । अहिले तराईका विभिन्न जिल्लामा कृषकहरुकाे उखु खेती गर्ने समय छ । जसमध्ये नगदे बाली उत्पादन हुने स्थान कपिलवस्तु पनि एक हाे । प्रत्येक बर्ष झै यस बर्ष पनि खेतीपातीकाे समयमा मल अभाव हुन थालेकाे छ ।
कपिलवस्तुकाे मुख्य नगदे बाली उखुका लागि मल आभाव हुन थालेपछि किसान चिन्तित बनेका छन् । उखु खेतीले किसानहरुलाई आय आर्जनमा मद्दत गर्ने हुनाले उखु खेतीप्रति किसान आकर्षित हुँदै आएकाे स्थानीय कृषक बताउँछन् । मलकाे समस्या समाधान गर्नुपर्नेमा सराेकारवालाले जाेड दिए पनि बर्सेनि मल अभावको समस्या भने हट्न सकेको छैन् ।
तराई कै कृषि मन्त्री भए पनि मल, बीउ ,सिँचाइ जस्ता किसानका समस्या समाधान गर्न नसकेकाे कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चाैधरीले बताए । सराेकारवालाले समस्या समाधान गर्न पहल नै नगरेकाे आराेप लगाउँदै निष्क्रिय भइ भ्रष्टाचारकाे पक्षपाेषण गरेकाे उनले जिकिर गरे । सरकारले किसानहरू खेतीपाती गर्दै बालीकाे उत्पादन गर्ने कृषकहरूकाे तथ्यांक संकलन गरि सिजन अनुसारकाे मल सहजरुपमा उपलब्ध गराउनुपर्ने समेत अध्यक्ष चाैधरीले बताए । 
जिल्लाकाे कृष्णनगर नगरपालिका बहादुरगञ्जमा रहेकाे कृषि सामग्री संस्थानका अधिकृत तारा खनालले अहिले जीटुजी सम्झाैता हुन नसकेकाे र भण्डारण क्षमता २ हजार मेट्रिक टनकाे हुनुपर्नेमा पुरानै अनुपातमा मात्र ५ सय मेट्रिक टनकाे रहेकाेले मल आपूर्तिमा समस्या देखिएकाे बताए । कपिलवस्तुकाे ५ स्थानीय तहमा मलखाद वितरण गर्ने जिम्मा पाएकाे संस्थानले सदरमुकाम ताैलिहवा भन्दा कम मल पाउँदै आएकाेले पनि मल आभाव छिट्टै देेखिने गरेकाे अधिकृत खनालकाे भनाई छ । अधिकृत खनालका अनुसार अहिले कै समयमा यदि सम्झाैता भयाे भने किसानलाई चाहिने मल कम्तिमा दुई महिनासम्म कुर्नैपर्ने बताइएको छ । 
कृषि सामाग्री संस्थान बहादुरगञ्जले जिल्लाकाे कृष्णनगर , विजयनगर, शिवराज, महराजगञ्ज, बुद्धभुमी लगायतकाे पालिकामा आसार सम्ममा दुई हजार मेट्रिक टन मलकाे आवश्यकता पर्दछ । तर कृषकलाई हुँदै आएकाे समस्याप्रति सरकारकाे उदासीनताले उत्पादन भन्दा लगानी बढी लाग्ने अवस्था छ ।