कावासोतीमा काठ सहित २ वटा ट्याक्टर समातिए

नवलपुर, फागुन ७ । प्रहरीले कावासोतीबाट अवैध काठको गोलिया बरामद गरेको छ । शुक्रवार साँझ ट्याक्टरमा ढुवानी हुँदै गरेको काठ कावासोती नगरपालिका वडा नं. ३ राममन्दिरबाट नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
दुई ट्याक्टरमा ढुवानी हुदै गरेको अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा काठका गोलिया फेला पारेको हो ।
प्रहरीले काठ सहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रियाका लागि डिभिजन बन कार्यालय नवलपुरलाई बुझाएको छ ।
६८ दशमलव १४ क्युफिट काठ ना ६ त ९२१० र ना ७ त ४३५८ नम्वरका ट्याक्टरबाट नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको हो ।
डिभिजन बन कार्यालय कावासोतीका अनुसार निजी आवादीमा उत्पादित बकाईना जातको काठ बिना ईजाजत कटान गरी पैठारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
बन कार्यालयका प्रमुख मोहन काफ्लेका अनुसार निजी आवादीमा खेतीकै रुपमा उत्पादन गरेको भए पनि कृषकले काठ कटानी, पैठारी गर्दा डिभिजन बन कार्यालयमार्फत लगत सिफारीस सहितको अनुमति लिनुपर्ने हुन्छ । यसरी विना सिफारीस र कागजात नभएकाले प्रहरीले पक्राउ गरी कानूनी प्रक्रियाका लागि बन कार्यालयको जिम्मामा आएको बताए ।
प्रारम्भिक अनुसन्धानमा मध्यवर्ती क्षेत्रबाट रुख कटान गरी पैठारी भएको बुझिएको छ । कार्यालय प्रमुख काफ्लेले भने– “आज शनिवार पनि भयो भोलि थप अनुसन्धान हुन्छ । मध्यवर्ती क्षेत्रभित्रको हो भने थप प्रक्रियाका लागि अमलटारीस्थित मध्यवर्ती बन सेक्टर कार्यालयलाई बुझाउँछौं ।